धातृप्रसाद सुवेदी
काठमाडौं आज पनि घमाइलै भयो । बिहान–बेलुका जाडो हुनु त सामान्य भइनै हाल्यो । मंसिरको महिना जो छ । त्यो पनि पुस लाग्न लागेको । यस्तै अवस्था छ यतिबेला नेपाली कांग्रेसको पनि । काठमाडौंमा नेता- कार्यकर्ताको चलहपहलले परिवेश भने तातेको छ । अझ तातेका त आकांक्षी छन् । उम्मेदवारीमा सहमति जुटाउन नसक्ने नेतासँग कार्यकर्ता तातेका छन् । हुन पनि उम्मेदवारको टुंगो लाग्न सकेको छैन ।
सबै सक्षम छन् । योग्यता पुगेका छन् । चाहना नहुने कुरै भएन । धेरै पटक र लामो समयसम्म सरकारमा बसेको पार्टी हो– कांग्रेस । यस्तो पार्टीका उम्मेदवारलाई सहयोग गर्नेहरु नभेटिने कुरै भएन । सक्नेले होटलमा गरे । अलि कम सक्नेले पार्टी प्यालेसमा गरे । त्योभन्दा पनि कम सक्नेले क्लबमा गरे ।
सक्दै नसक्नेले सामाजिक सञ्जाल उपयोग गरे । तर, धेरैले उम्मेदवारी घोषणा गरे । ‘जोगी हुनलाई कसैले पनि राजनीति गरेको हुँदैन ।’ एक न एक दिन उपल्लो नेतृत्वमा चाहना नहुने कुरै आउँदैन । पार्टीमा सामेल हुनुको कारण नै त्यही हो । यति भनिरहँदा अहिले उम्मेदवारको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । यो अवस्था सबै राजनीतिक दलमा छ । नेपाली कांग्रेस त्यसमा अलग रहने कुरै भएन ।
वर्तमान सभापति शेरबहादुर देउवा पक्षलाई संस्थापन पक्ष भनिएको छ । उहाँ पक्षीयलाई इतर पक्ष भनिएको छ । संस्थापन पक्षबाट सभापतिमा देउवामात्र दृश्यमा छन् । इतरमा भने जुहारी चलिरहेको छ । इतर पक्षको ‘साझा उम्मेदवार बनाएरै छाड्ने’ नेता मीनेन्द्र रिजालको उद्घोषले कार्यकर्तालाई केही राहत दियो । इतर पक्षले कांग्रेस नेतृत्वमा देउवाको विकल्प खोजेको छ ।
यति हुँदाहुँदै पनि बिहीबार साँझसम्म साझा उम्मेदवारमा सहमति जुटेन ।
यसैबीच, प्रकाशमान सिंहले सभापतिको दौडबाट पछि हट्दिन भन्नुभयो । त्यसक्रममा उहाँले कांग्रेसलाई प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गराउँछु पनि भन्न भ्याउनुभएछ । नेपाली कांग्रेसले आफूलाई सधैं प्रजातान्त्रिक नै भनिरहेको छ । सिंहले अब अर्को कुनखालको प्रजातान्त्रिक परिपाटीयुक्त पार्टीमा स्थापित गराउनुभएको हो रु जनताले सोचे अनुरुप पार्टीले ट्रयाक समाउन नसेको आरोप सिंहको छ ।
पार्टीलाई विधि विधान अनुसार चलाउन उहाँले आफ्नो उम्मेदवारी हुने प्रस्ताव गर्नुभयो । समावेशीरुपमा पार्टीलाई अगाडि बढाउने संकल्प पनि उहाँको छ । महाधिवेशन सुरु हुन अब केही घण्टामात्र बाँकी छ । वरिष्ठ नेता रामचन्द्र पौडल सभापतिमा साझा उम्मेदवार छान्न लागिरहनुभएको छ । सिंहको यो अभिव्यक्तिपछि पौडेल थप संकटमा पर्नुभएको छ । नेपाली कांग्रेसका सभापति देउवाले ‘सकभर सहमतिमै कांग्रेस नेतृत्व टुंगो लगाउँछौं’ भन्नुभयो । त्यसकै लागि बिहीबार केन्द्रीय समितिको बैठक राखिएको उनको भनाइ छ ।
उनले सहमतिमै नेतृत्व चयन नभए अस्वस्थ प्रतिस्पर्धा र कटुता नगर्न पनि आग्रह गरे यसैबीच, रामचन्द्रलाई अब प्रकाशमान बाधक भन्ने समाचार आयो । डाक्टर शेखर कोइरालाले ‘ब्याक’ हुने संकेत गरेपछि यस्तो समाचार आएको हो । सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासस्वरुप डा। शेखर लचिलो देखिए
प्रकाशमान सिंहले माने आफू पौडेललाई मान्न तयार रहेको संकेत गरेका हुन् । प्रकाशमान भने कुनै पनि हालतमा सभापतिको उम्मेदवार बन्ने अडानमा रहे । उनले गणेशमान सिंह परिवारले कांग्रेसमा जहिले पनि त्याग गरेको हुँदा यसपटक अरूले आफ्ना लागि छाड्नु पर्ने बताइसकेका छन् ।
बिहीबार नेपाली कांग्रेसको १३औं महा अधिवेशनबाट गठित केन्द्रीय समितिको अन्तिम बैठक बोलाइयो । बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक धेरै पछिसम्म पनि बस्न सकेन । अन्ततः यो बैठक नेता पौडेल बिनै बस्यो । बैठकले विधान संशोधन गर्ने तयारी गरेको कुरा थाहा पाएर पौडेलले बहिस्कार गरेको कुरो बताइयो । १४औँ महाधिवेशनका विषयमा छलफल गर्न बैठक डाकिएको थियो । ती विषयमा विधान संशोधन प्रस्ताव लैजाने तयारी भएको थियो भन्ने कुरो आयो ।
नेताहरूको व्यवस्थापनका लागि विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाउन लागिएको चर्चा चल्यो । बैठकले महाअधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित गरयो । राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित भएको जानकारी नेता महेन्द्र यादवले दिए । बैठक बहिस्कार गर्नेमा वरिष्ठ नेता पौडेलसँगै डा। शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेता पनि रहे ।
यसक्रममा नेता पौडेलले कांग्रेसले सर्वसम्मत विधान संशोधन गर्ने गरेको इतिहास रहेको सभापति देउवालाई स्मरण पनि गराए । सभापतिका आकांक्षी विमलेन्द्र निधिले ‘म सभापतिको निर्विकल्प उम्मेदवार हुँ’ भन्ने उदघोष गरे । आफूलाई दुवै पक्षबाट मत आउने दाबी गरे । नेपाली कांग्रेमा सिटौला समूहको छुट्टै स्थान छ । संस्थापन र इतर दुवै पक्ष यो समूहलाई मनाउने गर्छन् । यस समूहको मत निर्णायक बन्ने निष्कर्षमा दुवै पक्ष देखिन्छन् । यो समूहको बैठक गौशालामा बसेको समाचार आयो ।
शुक्रबार आफ्नो समूहबाट प्यानल नै घोषणा गर्ने तयारीका लागि बैठक बसेको रहेछ । बैठकमा पदाधिकारी र सदस्यको नाम टुंगो लगाउने गरी छलफल भएछ । यसबीच, केन्द्रीय सदस्यमा ओखलढुंगाका मात्रै आठ नेताले दाबी पेश गरेको समाचार आयो । त्यस्तै, कांग्रेसको भातृसंस्था नेपाल प्रेस युनियनले केन्द्रीय प्रतिनिधिका रुपमा पाँच जनाको नाम सार्वजनिक गरयो । अब पालो थियो डा। शेखर कोइरालाको ।
इतर पक्षबाट समापति पदको साझा उम्मेदवार तय नभएपछि उनले त्यो बाटो छाड्नुभयो । अनि हिड्नुभयो आफ्नै बाटो । ‘एक पटक, यसै पटक’ को नारा दिएर उनले सभापतिका लागि प्रचार सुरु गरे । बिहीबार अपराह्नदेखि डा। शेखरले सामाजिक सञ्जालबाट प्रचार अभियान थाले । यसबाट नेता पौडेलको चिन्ता अझ बढाइदियो । गगन थापा किन पो पछि पर्थे । उनले भनिहाले– अब हामीसँग बोल्ने कुरा रहेन ।
नागरिक निराश छन् । जनतासँग वाचा गरे अनुसार काम गर्न नसकेका दलहरूमा अब बहना छैन । उनले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । आज त उनले आफ्नो अवधारणापत्र नै सार्वजनिक गरे । उनले भने ‘हामीले जन९आन्दोलनपछि ठीक हुन्छ भन्यौं, त्यसपछि संविधानसभा निर्वाचन, संविधान निर्माण, नयाँ संविधान अनुसार राज्यको पुनःसंरचना भएपछि ठीक हुन्छ भन्यौं तर अहिले जनतामाझ गरिएका वाचा पूरा भएनन् । राज्यका निकाय कमजोर बने ।’
‘पार्टी पुनर्जागरण र रुपान्तरण’ को नारा दिए नेता थापाले । उनले अब कांग्रेसले ‘म होइन हामी’ भनेर काम गर्ने बताए । कांग्रेसको सदस्य हुनु र चुनाव जित्नुभन्दा पनि संकल्पसहित काम गर्न दृढता आवश्यक छ भन्ने उनको बुझाइ छ । उनले आफूले काम गर्नकै लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको पनि भने । अन्ततः न त संस्थापन न त इतर पक्षले नै उम्मेदवारको नाम सार्वजनिक गरे । उज्यालो हुँदैदेखि साँझसम्मको कांग्रेसका नेताको कामले ‘रिजल्ट’ देखाएन । उही भनिन्छ नि ‘रातभरि करायो, दक्षिणा हरायो’ नै भयो बिहीबारको दिन ।
धातृप्रसाद सुवेदी
