भोजपुर । बहुउयोगी मानिने जडीबुटी सतुवा खेती भोजपुरका किसानको रोजाइमा परेको छ । शक्तिबर्द्धक जडीबुटी मानिने सतुवा खेतीप्रति यहाँका किसान आकर्षित बनेका हुन् । सतुवाको खेतीमा यहाँका तीन सय बढी किसान आबद्ध छन् । पछिल्लो मूल्यमा केही गिरावट आए पनि किसानमा यसको खेतीप्रतिको आकर्षण उस्तै रहेको छ । एक हजार चार सय मिटर उचाइभन्दा माथि पाइने यो जडीबुटी धेरै रोगको लागि उपयोगी मानिन्छ । सतुवा यार्सागुम्बाजस्तै शक्तिबद्र्धक हुने व्यवसायीले बताउने गरेका छन् ।
केही वर्ष अगाडिसम्म प्रतिकेजी रु १८ देखि २० सम्ममा बिक्री भएको भए पनि पछिल्लो समयमा मूल्यमा केही गिरावट आएको किसान बताउँछन् । अहिले पनि प्रतिकेजी पाँचदेखि सात हजारसम्म बिक्री हुने षडानन्द नगरपालिका १० तीनतलेका कृषक पेमदोर्ची शेर्पाले बताए ।
केही वर्ष अघिसम्म यस क्षेत्रका किसानले एक पटकमा १० मनसम्म सङ्कलन गरेर बिक्री गरेको किसान शेर्पाले बताए । यहाँका सबै ३७ घरपरिवारले सतुवाको खेती गरिरहेको उनले जानकारी दिए । उनले आफ्नो पाँच रोपनी क्षेत्रमा सतुवाको व्यावसायिक खेती गरिरहेको बताए । घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विषसेवन गरेको बेलामा प्रयोग गर्न सकिने बहुउपयोगी जडीबुटी रहेको किसान बताउँछन् ।
त्यस्तै यसलाई क्यान्सर, ग्याष्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि उपयोगी हुने किसानको भनाइ छ । प्रायः एउटा बोटबाट एउटामा मात्र डाँठ निस्कने भए पनि फस्टाएको बोटले १६ वटासम्म डाँठ हानेको यहाँस्थित तिम्माका किसान मानबहादुर राईले बताउँछन् ।
बिरुवा उम्रिएको दुईदेखि तीन वर्षमा सतुवा फुल्छ। फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि सयसम्म बिरुवा उत्पादन हुने किसानको भनाइ छ । यसको जमिनमुनिको गानो अदुवाजस्तै देखिन्छ । सबै पात सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन् । यसको डाँठलाई तरकारीको रुपमा खादा मिठो हुने किसानको भनाइ छ ।
सतुवा विशेष गरेर सेपिलो भागमा फस्टाउँछ । यसको खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो तथा उत्तर–पश्चिम फर्किएको भूगोलमा उपयुक्त हुने किसानले बताउने गरेका छन् । सतुवा विशेष गरेर बिक्रीका लागि भारत र चीन जाने व्यवसायी बताउँछन् । सरकारले बजारीकरणमा ध्यान दिए सतुवा खेतीबाट राम्रो आम्दानी लिन सकिने कृषक गुणराज राउतले बताए ।
त्यस्तै टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीय कृषक एकराज विष्टले पनि व्यावसायिकरुपमा सतुवाको खेती गरी रहेको जनाए । किसान विष्टले करिब दुई रोपनी क्षेत्रमा खेती विस्तार गरेको जानकारी दिएका छन् ।
सुतवा टेम्केमैयुङ गाउँपालिकाको वडा नं १ तिम्मा र वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका–२ हेलौछा, षडानन्द नगरपालिका– ९ किमालुङ, वडा नं–१० साम्पाङ, वडा नं १३ बोयाको माथिल्लो भेग र आमचोक गाउँपालिका–४ र साल्पासिलिछो गाउँपालिका–४ खाटम्मालगायतमा तीन सय बढी कृषकले व्यावसायिक खेती गर्दै आएका छन् ।
जिल्लामा चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोड सल्ला, विखुम्बालगायत जडीबुटी हुने गरेको छ । धेरै प्रजातिका जडीबुटी पाउने भए पनि पहिचान गर्न गाह्रो भएको तथा सोसम्बन्धी ज्ञानको अभावले त्यस्ता प्रजातिका जडीबुटीको खेती गर्न समस्या हुने गरेको किसान बताउँछन् ।-रासस
