काठमाडौं । मृत्युको अपेक्षा कसैले गर्दैन । त्यो जहिले पनि अनपेक्षित हुन्छ । हामी कसैले पनि प्रदीप गिरी यति छिटै दिवङ्गत हाेलान् भनेर सोचेका थिएनौं । उनी उपचारका लागि भारतको मुम्बइमा थिए । हामी उनी छिटै निको भएर फर्किन्छन् भन्ने अभिलाषामा बाँचेका थियौं । उनको निधन असामयिक थिएन । उनी उमेरको माथिल्लो हदमा थिए । यति हो कि, हाम्रो सोचाइमा उनको महाप्रस्थानको समय भएको थिएन । काललाई कसैले छल्न सक्दैन । प्रदीप गिरीले पनि त्यसलाई छल्न सकेनन्।
अहिलेको जटिल राजनीतिक परिस्थितिमा प्रदीप गिरिको अनुपस्थिति सबैलाई खट्किएको छ । यो अस्वाभाविक होइन । आजको राजनीतिक परिदृश्यमा प्रदीप गिरि सर्वपक्षीय व्यक्तित्व थिए । उनी कांग्रेस पार्टीको टिकटमा चुनिएका सांसद भए पनि राजनीतिमा उनको सर्वमान्यता स्थापित भएको थियो । सबै दलका सदस्यहरु उनका कुरा सुन्दथे । उनका तर्कहरुको मनन् गर्दथे । उनका विचारहरुको कार्यान्वयन गर्न नसके पनि त्यसमा सहमति जनाउँथे ।
उनमा रहेको व्यापक ज्ञान, सिद्धान्तप्रतिको अविचलित निष्ठा, समाजवादी समाज निर्माणप्रतिको प्रतिबद्धता, निर्भिक र स्पष्टवादी स्वभावका कारण राजनीतिमा लाग्ने मानिसमा उनको ठूलो आकर्षण थियो । प्रतिनिधिसभा पटलमा अभिव्यक्त उनका विचारहरु सर्वदलीय आकर्षणका विषय हुन्थे । प्रदीप गिरिका विचार ओजस्वी त हुन्थे नै, सामाजिक हिसाबले पनि सन्तुलित हुन्थे । आफना विचारले समाजका सबै वर्ग र पक्षका मानिसलाई वशिभूत गर्नु सामान्य कुरा थिएन ।
देशका प्रतिष्ठित वरिष्ठ चिकित्सक मधु घिमिरे भन्छन्, ‘‘मैले धेरै राजनीतिज्ञलाई जाँच गर्ने र हेर्ने मौका पाएको छु । प्रदीप गिरिको पकड नीतिमाथि रहेको छ । नीतिको कुरामा उनी गहिराइमा पुगेका छन् । उनी आजका भ्रष्ट चरित्रको राजनीतिबाट अलग छन् । उनले पदको मोह अँगालेका छैनन् । पदको होडबाजीले राजनीतिलाई दूषित पार्दछ । पदको मोह त्याग नगरेसम्म राजनीति चोखो रहन सक्दैन भन्ने मान्यता राख्दथे प्रदीप गिरि ।’’
धेरैजसो वुद्धिजीवीहरु प्रदीप गिरिलाई बीपीपछिको सबैभन्दा प्रभावशाली मार्गदर्शकका रुपमा लिन्छन् । आजको राजनीतिको मुख्य समस्या भनेको यसमा नैतिक तत्वको अतिशय अभाव हो । अधिकारको दुरुपयोग तीब्र गतिमा आकासिएको छ । आदर्शका प्रारुप खजमजिएका छन् । परस्परमा अहङ्कारको लडाइँ चलिरहेको छ । राजनीतिमा लागेका मानिसले विनयशीलता गुमाउँदै गएका छन् । राजनीतिज्ञहरु असल कुराका पक्षमा आफूलाई उभ्याउन चाहँदैनन् । व्यक्तिगत स्वार्थको पोषणका लागि जस्तोसुकै गलत सम्झौता गर्न पनि पछि पर्दैनन् ।
राजनीतिक दलका सदस्य र नेताहरु प्रदीप गिरिजस्ता मानिसको महिमा गाउन चुक्दैनन् । तर, उनीहरुले देखाएको बाटोमा हिंडन चाहदैनन् । किनभने सत्यको बाटो कठोर हुन्छ । सत्यको बाटो हिंडन चाहने मानिसले धेरै दुर्गम अवस्था भोग्नुपर्ने हुन्छ । उसका परिवारले दुःख पाउँछन् । सामाजिक उत्थानका लागि दुःख पाउने व्यक्तिको प्रशंसा होइन, जग हँसाइ हुन्छ ।
यो पंक्तिकार प्रदीप गिरिको सङ्गतमा आउँदा भर्खर १४ वर्षमा पाइला टेकेको थियो । त्यसपछिको यो लामो समयमा मैले प्रदीप गिरिको विचार र व्यक्तित्व समान पाएको छु । हो, उनका विचारहरु प्रखर भएका छन् । व्यक्तित्वमा निखार आएको छ र आवाजमा आधिकारिकता थपिएको छ । तर, उनको स्वप्नजीवी स्वभावमा कहिल्यै परिवर्तन आएन । उनले जस्तोसुकै खराव समयमा पनि असल समाजको सपना देखे। परिवर्तनको अवश्यम्भावितामा उनको गहिरो विश्वास थियो । युवा शक्तिमा जागरण ल्याउन उनले थुप्रै काम गर्नु भएको छ । उनका योगदानका परिणामहरु छिटै देख्न पाइने आशा गरौं ।
प्रदीप गिरि बीपी कोइरालासँग त निकट थिए ने । उनको सम्बन्ध शहीद सरोजप्रसाद कोइरालासँग पनि प्रगाढ थियो । निर्दलीय पञ्चायत व्यवस्थाका गुण्डाहरु भारत भूमिमा पसेर कोइरालाको हत्या गरे । त्यो घटनाले प्रदीप गिरिलाई अत्यन्त बिह्वल बनायो । त्यतिखेर उनी बनारसमा अध्ययन गर्दै थिए । त्यो घटनापछि उहाँको जीवनमा नयाँ मोड आयो । तैपनि, उनले आफनो अध्ययन प्रक्रियालाई निरन्तरता दिए । जनमत सङ्ग्रहपछि नेपाल आउनु भएका प्रदीप गिरिले राजनीतिलाई नौलो दिशा दिए। बीपीको देहावसानपछिको अवस्थामा प्रदीपले नै वौद्धिक वहसको परम्परालाई निरन्तरता दिए।
प्रदीप गिरि अब हाम्रा बीच छैनन्। उनी समानको कुनै अर्को पथ–प्रदर्शक पनि नभमा देखिएको छैन । समाजमा प्रतिदिन विकार फैलिएको छ । उनले राजनीतिमा धकेलेर अघि बढाएका थुप्रै व्यक्तित्वहरु नभएका होइनन् । तीमध्ये धेरै ओझेलमा परेका छन् । प्रदीप गिरिले बोक्नु भएको लोकतान्त्रिक समाजवादको मसाल कसैले न कसैले, ढिलो–चाँडो बोक्न त बोकी हाल्नेछन् तर समय घर्किदैछ । परिवर्तनका लागि अरु कति पुस्ता पर्खिनु पर्ने हो ? प्रश्न गम्भीर छ ।
