काठमाडौं । नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारीपत्रअनुसार, प्रहरी कल्याण कोषद्वारा हाल सञ्चालित पाँच पेट्रोल पम्प, प्रस्तावित चार पेट्रोल पम्प र बाँकी प्रहरी कार्यालयहरुका अन्य उपयुक्त स्थान गरी २५ ठाउँमा चार्जिङ स्टेसन स्थापना गरिनेछ । चार्जिङ स्टेसन दीर्घकालीन रुपमा प्रहरी कल्याण कोष मातहत सञ्चालन हुनेछन् ।
प्रहरीसँग भएको एमओयूअनुसार, प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेसनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गर्नेछ । उपकरणको मर्मत तथा नियमित सर्भिसिङसमेत प्राधिकरणले नै गर्नेछ । प्रहरीले पूर्वाधार निर्माणका लागि उपयुक्त स्थान उपलब्ध गराउनेछ । निर्माण भएपछि चार्जिङ स्टेसनको सञ्चालन तथा सुरक्षा गर्नेछ ।
चार्जिङ स्टेसन सञ्चालन गर्दा प्राधिकरणले समयानुकूल निर्धारण गरेको दरमा सर्वसाधारणलाई समेत सर्वसुलभ रुपमा उपयोग गर्न पाउने व्यवस्था गर्नुपर्नेछ । सवारीसाधन चार्ज गर्दा उपभोक्ताले तिर्ने महसुल प्राधिकरणले संकलन गर्नेछ । विद्युत् वितरण विनियमावलीको व्यवस्थाबमोजिम महसुल दरको शुल्कमा हुने कुल नाफाको ५० प्रतिशत रकम चार्जिङ स्टेसनको सञ्चालन तथा व्यवस्थापन खर्चका रुपमा प्रहरीको कल्याण महाशाखाले पाउनेछ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले विद्युतीय सवारीसाधनको प्रयोग गरी मुलुकभित्र उत्पादित विद्युत् खपतका लागि चार्जिङ स्टेसन स्थापनाको एमओयू हुनु ऐतिहासिक अवसर भएको बताए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न र पेट्रोलियम पदार्थको खपत घटाउन थप २५ स्थानमा अत्याधुनिक स्मार्ट चार्जिङ स्टेसन स्थापना गर्न एमओयू हुनु महत्त्वपूर्ण कोसेढुंगा भएको बताए ।
‘चार्जिङ स्टेसनका उपकरण तथा पूर्वाधार निर्माणका लागि करिब एक करोड रुपैयाँ लाग्छ, विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न विद्युत् महसुलमा पनि विशेष सहुलितदर औसतमा प्रतियुनिट करिब ५ रुपैयाँमा तोकिएको छ,’ उनले भने, ‘पेट्रोलियम पदार्थको प्रयोग गरी गुड्ने गाडीको प्रतिकिलोमिटर खर्च १५/२० रुपैयाँ पर्छ भने विद्युतबाट चल्ने गाडीको प्रतिकिलोमिटर करिब ६० पैसादेखि १ रुपैयाँ पर्छ ।’
प्राधिकरणले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न देशैभर ५१ स्थानमा छिटो चार्ज गर्न सक्ने अत्याधुनिक चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । प्राधिकरणले निर्माण गरिरहेका हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिनेछ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोबाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिनेछन् । यसबाट ठूला बससहित तीनवटा सवारीसाधनले एक साथ चार्ज गर्न सकिनेछ ।
तीन सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिनेछ । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ । सवारीसाधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।
