काठमाडौं । काठमाडौँका विभिन्न स्थानमा सञ्चालित पाँचवटा सहकारी एकआपसमा गाभिने भएका छन् । राजधानीका आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा गाभिने सम्झौता भएको हो ।
गाभिएपछि संस्थाको कारोबार झण्डै नौ अर्ब रुपैयाँ पुग्ने भएको छ । बचत चार अर्ब ६३ करोड ७० लाख आठ हजार ५९७ रुपैयाँ हुनेछ । मर्ज भएसँगै ४ अर्ब ९९ करोड ४५ लाख ३९ हजार १२८ रुपैयाँ ऋण तथा लगानी पुग्नेछ । त्यस्तै कुल सम्पत्ति ७ अर्ब ५८ करोड १ लाख ७५ हजार एक सय ९६ रुपैयाँ पुग्ने पनि जनाइएको छ । गाभिएपछिको सहकारीको नाम ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लि.’ रहने अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिएका छन् ।
पाँच सहकारी गाभिएपछि सहकारी संस्थाको सेयरपुँजी ३० करोड ८१ लाख २२ हजार ५ सय पुग्ने, सदस्य संख्या ३५ हजार २० पुग्ने र र ऋणी सदस्य सङ्ख्या छ हजार ८५८ जना पुग्ने भएका छन् । पाँच सहकारी एक भएपछि संस्थाको जगेडा कोष १४ करोड ६६ लाख ८९ हजार नौ सय ८२ रुपैयाँ हुनेछ । कर्जा जोखिम कोष १२ करोड ४२ लाख ३५ हजार ८ सय ९८ रुपैयाँ पुग्ने जनाइएको छ । त्यसैगरी संस्थाको तरलता रकम १ अर्ब १३ करोड ९८ लाख ८७ हजार ८ सय १७ रुपैयाँ रहने भएको छ ।
