काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले आयातित फर्निचरजन्य उत्पादनलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ फर्निचर एक्स्पो आयोजना गर्न लागिएको बताएका छन् । बर्सेनि झन्डै ६० अर्ब रुपैयाँबराबरको फर्निचरजन्य उत्पादनको कारोबार हुँदै आएकामा ५० प्रतिशत हिस्सा आयातित वस्तुले ओगटेको संघका अध्यक्ष जोशीले बताए ।
‘तयारी वस्तु उत्पादनमा अन्य मुलुकले प्रयोग गर्दै आएका प्रविधिको प्रदर्शनी र सोको जानकारी व्यवसायीका लागि एक्स्पोमा आकर्षण बन्नेछ,’ जोशीले भने, ‘अन्य मुलुकबाट आउने तयारी उत्पादनमा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न एक्स्पोले सहयोग पुर्याउनेछ भने स्वदेशमै कसरी गुणस्तरीय तयारी वस्तु उत्पादन गर्ने भन्ने विषयमा जानकारी दिनेछ ।’
फर्निचर तथा फर्निसिङका उत्पादकहरुले आफ्ना उत्पादनबारे उपभोक्तालाई एकै स्थानमा जानकारी दिन सकून् भन्ने उद्देश्यसहित एक्स्पो आयोजना गरिएको जोशीको भनाइ छ ।
भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने एक्सोका संयोजक ओम बस्नेतले स्वदेशमै तयारी वस्तु उत्पादन गर्न सक्ने अवस्था बन्दै गएको बताए । यद्यपि राज्यस्तरबाट त्यसमा पहलकदमी नलिएको अवस्थामा एक्स्पोले राज्यको ध्यान तान्ने अपेक्षा रहेको बताए ।
यसपटकको एक्स्पोलाई स्वदेशी ब्रान्ड प्रेस्टिज कार्पेटले प्रायोजन गरेको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ आयोजना भएको एक्स्पोलाई स्वदेशी ब्रान्डले नै प्रायोजन गरेको प्रेस्टिज कार्पेटका सञ्चालनक अनिल महेश्वरीले बताए । ‘स्वदेशमै गुणस्तरीय फर्निचर तथा फर्निसिङका उत्पादन तयार हुन थालेको छ र त्यस्ता उत्पादनको बजार बिस्तार भइरहेको छ भन्ने सन्देश दिन पनि एक्स्पोलाई प्रायोजन गरेका हौं,’ उनले भने । स्वदेशी र आयातित उत्पादनको गुणस्तर र मूल्य तुलना गर्न पनि उनले अवलोकनकर्तालाई आग्रह गरे ।
एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गरेको छ । इभेन्ट सोलु्सनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले उदयीमान अवस्थामा पुगेको फर्निचरजन्य उत्पादनको बजार कोरोनाका कारण केही सुस्त भएको र एक्स्पोले त्यसलाई पुनः उचाइ दिनेमा आफू विश्वस्त रहेको बताए । बजार भौंतारिएर फर्निचरजन्य उत्पादनको खोजी गर्नुपर्ने बाध्यतामा रहेका उपभोक्तालाई एकै छानामुनि गुणस्तरीय उत्पादन छानेर किन्ने अवसरका लागि एक्स्पो आयोजना गरिएको प्रधानको भनाइ छ ।
किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री एक्स्पोको मुख्य आकर्षणका रुपमा रहनेछन् ।
भारत, बंगलादेशलगायत छिमेकी मुलुकका प्रदर्शक पनि एक्स्पोमा सहभागी हुनेछन् । पाकिस्तानलगायत मुलुकका प्रदर्शकहरुले समेत सहभागिता जनाउँदै छन् । जेन्सा कार्पेट, हलेसी डेकोर र भिवोन चेयर र युनाइटेड फर्म एन्ड म्योट्रेसले एक्स्पोलाई प्रायोजन गरेका छन् भने डिजी पे डिजिटल पार्टनर रहेको छ ।
एक्स्पो अवलोकनका लागि १०० रुपैयाँ शुल्क लाग्नेछ । डिजी पेबाट १० गोल्ड क्यास रिडिम गरेर पास पाउन सकिन्छ । विवरण संकलन केन्द्रमा आफ्नो विवरण भरेर नि:शुल्क पनि एक्स्पो अवलोकन गर्न सकिन्छ । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवर्द्धन गरेका छन् भने नेपाल हस्तकला महासंघ, आइडिया नेपाल र स्पेस म्यागेजिनको सपोर्ट छ ।
