• ट्रेण्डिङ्ग :
 'बट्टा र प्याकेटका खानेकुराभन्दा कर्कलो र पिँडालु स्वस्थकर !

 'बट्टा र प्याकेटका खानेकुराभन्दा कर्कलो र पिँडालु स्वस्थकर !


  • 9.3K
    SHARES
    • भाद्र १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 14.3K Views

     'बट्टा र प्याकेटका खानेकुराभन्दा कर्कलो र पिँडालु  स्वस्थकर  !

     ऋषि पञ्चमीको दिन बिहान नुहाएर पुजा गरेपछि महिलाहरुले कर्कलो र भात खाने चलन छ।  त्यो दिन पकाइने कर्कलो र भात म बडो मिठो मानेर खान्छु। कर्कलोको नाम लिएपछि त्यस्तो पनि तरकारी हुन्छ र ? के खाने छ्या ! भनेर नाक खुम्च्याउनेहरु पनि धेरै भेटिन्छन् । कर्कलोमा पाइने पौष्टिक तत्वबारे थाहा भएको भए सायद यसरी नाक खुम्च्याउनेमध्ये धेरैले आहा ! भन्ने थिए। नखानेहरुले पनि खान थाल्थे होलान् ।

    images

    कर्कलोको हरियो पात पकाउँदा कतिपय अवस्थामा कोक्याउने पनि हुन्छ। तर, यसमा अमिलो हालेपछि, त्यो कोक्याउने हट्छ।  फलामको भाँडामा पकाएको कर्कलो अमिलो गोलभेँडा र भातसँग खायो भने शरीरमा लौहतत्व पर्याप्त प्रदान गर्छ। सायद त्यसैले हाम्रो सँस्कृतिमा तीज र पञ्चमीको व्रतपछि शरीरलाई उर्जा र पोषण दिन भनेर कर्कलो भात खाने चलन चल्यो ।

    ऋषि पञ्चमीको दिन कर्कलो खोजीखोजी खाइन्छ। तर, अरु दिनमा पनि कर्कलो  खाइयो भने रक्तअल्पताबाट बच्न धेरै मद्दत गर्ने थियो । नेपालमा मात्र होइन, चीन, ब्राजिल, ताइवान, बंगलादेश र अफ्रिकामा पनि कर्कलोको तरकारी खाइन्छ ।

    दक्षिण अमेरिका, कोस्टारिका, निकारागुवा, पनामा र  देराममा सुप बनाएर खाइन्छ। कर्कलोको जरा अर्थात पिँडालुलाई आलुको सट्टा पनि कतिपय ठाउँमा प्रयोग गरिन्छ, युरोपमा रोमन कालदेखि नै यसलाई प्रयोग गरिन्थ्यो। त्यो बेलामा पिँडालु कसरी पकाएर खाने भनेर किताबमा नै लेखिएको थियो । नेपालमा कर्कलो र पिँडालुलाई अलि अपहेलित खाना मानिन्छ। तर कर्कलो र मासको मस्यौरा तातो भातसँग खाने मानिसहरुले चाँहि यसको स्वाद बिर्सन गाह्रो हुन्छ। 

    किन होला कर्कलो र पिँडालु यति अपहेलित भएको नेपालमा ?

    सायद जताततै पाइने भएर हो कि ? तराइतिर बाटोबाटोमै कर्कलोको बोट देखिन्छ। तर कसैले प्रयोग गरेको देखिन्न। कर्कलोमा लौहतत्व, क्याल्सियम, विभिन्न अन्य खनिजपदार्थ र भिटामिन ए, भिटामिन सी र भिटामिन के पनि केही मात्रामा हुन्छ । बाटामा फलिरहेको कर्कलो किन कसैले नटिपेको भनेर सोद्धा एक महिलाले भनेकी थिइन्- यसमा त विष हुन्छ। खानु हुन्न ।

    वास्तवमा यसमा रहेको ‘क्याल्सियम अक्सोलेट’ नामक तत्वको उपस्थितिले केही विष हुनसक्छ। तर रातभरि पानीमा भिजाएर वा मज्जासँग पकाएपछि त्यो विषालु तत्व नष्ट हुन्छ। केही व्यक्तिहरु जसको घुडाँ दुख्छ,उनीहरुले धेरै कर्कलो र पिँडालु खाएपछि घुडाँको दुखाइ बढेको अनुभव गर्छन् भने सायद यस्ता व्यक्तिहरुले कम खाएकै वा छोडेकै ठीक हुन्छ।

    तर अन्य स्वस्थ व्यक्तिलाई स्वादक साथै रोगसँग लड्ने शक्ति दिने कर्कलो विभिन्न तरिकाले प्रयोग गर्नु अति उत्तम हुन्छ। सस्तो भन्दैमा हेप्न पर्दैन । बट्टाका, प्याकेटका कुहिएका खानेकुरा भन्दा त कर्कलो र पिँडालुको तरकारी प्रयोग गरे हुन्छ।

     

  • सम्बन्धित विषय:

  • # डा. अरुणा उप्रेती

  • डा. अरुणा उप्रेती
    लेखकबाट थप