• ट्रेण्डिङ्ग :
अकबरे खुर्सानीको माग बढ्दो, उचित मूल्य नपाउँदा किसान भने निराश

अकबरे खुर्सानीको माग बढ्दो, उचित मूल्य नपाउँदा किसान भने निराश


  • 5.5K
    SHARES
    • भाद्र १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    अकबरे खुर्सानीको माग बढ्दो, उचित मूल्य नपाउँदा किसान भने  निराश

    काठमाडौं ।  प्रमुख नगदे बालीका रुपमा लिइने अकबरे खुर्सानीले उचित मूल्य नपाउँदा विभिन्न पहाडी जिल्लाका  किसान मारमा परेका छन् । अरु बेला यो मौसममा तेह्रथुम जिल्लामा अकबरे एक केजीको  चार सयदेखि रु पाँच सयसम्म पर्थ्यो । तर, अहिले एक केजीको  एक सय ५० देखि बढीमा  दुई सय रुपैयाँसम्म बेच्न किसान बाध्य भएका छन् । 

    images

    छथर गाउँपालिका ६, सुदापका किसान शेरबहादुर पौडेलले अघिल्लो वर्ष यही सिजनमा अकबरे प्रतिकिलो  दुई सय ५० भन्दाबढीमा बेचेका थिए । यो वर्ष उनले प्रतिकिलो  एक सय ५० रुपैयाँभन्दा बढीमा बेच्न पाएका छैनन् । 

    'खोई यो साल त अकबरेको भाउ पो छैन', पौडेलले भने,'अहिले अघिल्लो सालको भन्दा यस वर्ष अकबरे पनि बढी फलेको छ । त्यही भएर कसैले खुर्सानीको भाउँ नै लगाउँदैनन् ।'अरुबेला तेह्रथुमको वसन्तपुर, लसुने, जिरिखिम्ती, म्याङ्लुङ, शुक्रबारे बजारमा अकबरे किन्नेको भीड नै लाग्थ्यो । आजभोलि बजारमा अकबरे किन्ने पनि छैनन् । बारीमै कुहिने डरले पनि सस्तोमा बेच्नुपरेको अर्का किसान खगेन्द्र मगरको भनाइ छ । 

    आर्थिक वर्ष २०७८-७९ मा तेह्रथुम जिल्लामा २९ हेक्टर क्षेत्रफलमा चार सय ५७ दशमलव ८७ मेट्रिक टन अकबरे  उत्पादन भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा २८ हेक्टर क्षेत्रफलमा तीन सय ८० मेट्रिक टन अकबरे  उत्पादन भएको थियो । तथ्यांकमा अघिल्लो वर्ष उत्पादन घटेको भए पनि समयमै पानी परेकाले यो वर्ष उत्पादन बढ्ने अनुमान गरिएको छ । 

    यो वर्ष अधिकरुपमा अकबरे फलेका कारण पनि बजार मूल्य कम भएको हुन सक्ने कृषि ज्ञान केन्द्र धनकुटाका सूचना अधिकारी सुरज खनाल बताउँछन् । बर्सेनि अकबरे उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापन र भण्डारणका लागि सरकारले चासो दिएको छैन । पूर्वी पहाडी जिल्लामा अकबरेको उत्पादन र व्यापार राम्रो भए पनि किसानले उत्पादन गरेका खुर्सानीको भण्डारण र उचित बजारको प्रबन्ध कसैले गरेको छैनन् ।

    नेपालका सबै भूभागमा अकबरेको खेती हुने भए पनि पहाडी जिल्लामा राम्रो उत्पादन हुन्छ । खाना पचाउने, माइग्रेन, कोल्ड फ्लु भएकालाई पनि राहत दिने तथा हाडजोर्नीमा हुने दुखाइ कम गराउने आदि फाइदा भएका कारण पनि अकबरे प्रायःमानिसले मन पराउँछन् । 

    कृषि ज्ञान केन्द्रले पनि अहिलेसम्म अकबरेको बजार व्यवस्थापन वा यसको विस्तारका लागि कुनै कार्यक्रम ल्याएको छैन । व्यावसायिकरुपमा अकबरे खेती गर्ने किसानले अनुदानको माग गरेका छैनन् । जसले गर्दा पनि अनुदानको कार्यक्रम ल्याउन नसकिएको सूचना अधिकृत खनालको भनाइ छ ।

     

  • सम्बन्धित विषय:

  • # अकबरे खुर्सानीको माग बढ्दो

  • तेस्रो आँखा