काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप दुई सय छ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
जम्मा दुई हजार आठ सय ६९ जनाको नमुना परीक्षण गर्दा दुई सय छ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार पाँच सय ९५ जनाको पिसिआर परीक्षण गर्दा एक सय ३४ जनामा र एक हजार दुई सय ७४ जनाको एन्टीजेन परीक्षण गर्दा ७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणको कारण तीन जनाको मृत्यु भएको छ भने तीन सय ९८ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या दुई हजार आठ सय ९१ रहेको छ ।

