काठमाडौं । ‘प्राविधिक कारणले देश छाडेर केही वर्षका लागि बाहिरिएको छु..’ लेखिएको स्टाटसले आज उनलाई चिन्ने व्यक्तिको मनमा कताकता नरमाइलो लागेको छ । देशको अर्थ व्यवस्था, अर्थनीतिलगायतको विषयमा कलम चलाउने अनि वकालत गर्ने व्यक्तित्वले देश छाडेको स्टाटस पढ्नेबित्तिकै कमेन्ट, लाइक र फोन गरेर जिज्ञासा राख्नेहरु सयौं छन् । देशका वरिष्ठ अर्थविद्का रुपमा चिनिने डा. विश्वम्भर प्याकुरेलले केही वर्षका लागि देश छाडेर बाहिरिने खबर फेसबुकमा स्टाटस लेखेर सार्वजनिक गरेका हुन् ।
उनले फेसबुकमा लेखेको स्टाटस हेरेर सयौं कमेन्ट गरिएका छन् । निर्मल अर्याल, नीतु पोखरेल, केशर ढकाल, गोपी मैनाली, रुद्र घिमिरेलगायतले ‘चाँडै भेटौंला डा. साहेब, शुभयात्रा’ जस्ता कमेन्ट गरेका छन् । नवीन खनालले भने ‘परिस्थितिका अगाडि हामी नतमस्तक छौं’ भन्ने कमेन्ट गरेका छन् ।
डा. खोमराज खरेल लेख्छन्, ‘आदरणीय गुरु-म्याडमको यात्रा र बसाइ उपलब्धिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’ खरेलको यस स्टाटस लेखाइले प्याकुरेल दम्पती नै विदेशमा गएका हुन् । तर प्याकुरेल दम्पती किन विदेश गएका हुन् भन्नेचाहिँ फेसबुक स्टाटसमा खुलेको छैन । अर्कातिर सावित्री शर्मा लेख्छिन्,‘सरको यात्रा र गन्तव्य सुखद रहोस् ! हामीले हजुर नेपालमै भएको देख्न चाहन्छौँ तर परिस्थिति आ–आफनो ! भवतु शुभ मंगलम् !!’
वास्तवमा डा. प्याकुरेलका अर्थसम्बन्धी विचार पढ्ने पाठक, सुन्ने स्रोता र हेर्ने दर्शक धेरै नै छन् । डा. प्याकुरेल देशको अर्थराजनीति कस्तो हुनुपर्छ भनेर सरकारलाई दबाब दिइरहने एक बौद्धिक व्यक्ति हुन् । उनको स्टाटस पढेपछि सामाजिक सन्जालमार्फत मूल्यवान् इनपुट दिन लवेश प्याकुरेलले सुझाएका छन् । कमेन्ट बक्समा विजय केसीले ‘वेलकम टु कोरिया’ लेखेकाले डा. प्याकुरेल कोरियातर्फ गएको आकलन गर्न सकिन्छ । यस्तै टंक कार्की लेख्छन्,’ यो उमेरमा केही वर्षका लागि ?! झसंग बनाउँछ अनि अनयास दिमाग दिललाई एउटा फिल्ममा अनुपम खेरले छोरीलाई बनेको स्वर सम्झना गराउँछ, ’भाग बेटा भाग !’ शुभ रहोस्, सर !’
यता डा.प्याकुरेलले धेरै शुभचिन्तक र माया गर्नेहरुसँग बाहिर जाने बेला प्रत्यक्ष सम्पर्कमा आउन नसकेमा क्षमाप्रार्थी भनेका छन् । तर पनि फेसबुक, ट्विटर, भाइबर, ह्वाट्सलगायत सामाजिक सन्जालका माध्यमबाट आफू सम्पर्कमा आउने उनले आश्वासन दिएका छन् । आफूले प्रतिनिधित्व गरेका संस्थाहरुलाई दिन, गते, र समय निश्चित भएपछि भर्चुवल बैठकका लागि लिंक पठाउन आग्रह गरेका छन् ।

कतिपयले भने नेपालमा हुने कार्यक्रममा उनको भौतिक उपस्थिति नै चाहेका छन् । सुवोध प्याकुरेल लेख्छन्, ‘कस्तो कस्तो खल्लो लाग्यो दाइ । मुलुक शंकटापन्न संक्रमणकालमा छ । भौतिक उपस्थितिको खोजी गर्नुपर्ने खण्ड आइलाग्न सक्छ । तपाइको उत्तरोत्तर प्रगति र सफलताको कामना गर्दछु ।’
वास्तवमा अर्थविद् डा. विश्वम्भर प्याकुरेल देशको अर्थतन्त्र सुधार गर्ने बाटो देखाउने एक प्रमुख पात्र हुन् । सरकारमा रहेकाहरुले पनि उनका सुझावहरुलाई ग्रहण गरेर अर्थनीति बनाउने गर्छन् । यस्तै अर्थशास्त्र बुझ्न खोज्नेहरुका लागि उनी ज्ञानको सागर नै हुन् । देशको अर्थतन्त्रको मार्ग देखाउने व्यक्ति ‘केही वर्षका देश छाडेर बिदा भएँ’ भन्दा जोकोहीको मनमा कुतूहल भएको छ । उनले प्राविधिक कारणले केही वर्षका लागि देश छाडेको बताएका छन् । वास्तवमा देशको अर्थतन्त्र नै डोर्याउने क्षमता राख्ने एक बौद्धिक व्यक्तिको समस्या समाधानको माध्यम यही देशभित्र हुनुपर्थ्यो । त्यो नहुनु दुखद पक्ष भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
को हुन् विश्वम्भर प्याकुरेल ?
उनको नाम अर्थविद्सँग मात्रै छैन । उनी गीतकार, साहित्यकार तथा कवि पनि हुन् । उनका विभिन्न पत्र-पत्रिकाहरूमा कविता, गीत, लेख आदि प्रकाशित हुने गरेका छन् । देशको अर्थतन्त्रको सम्बन्धमा चासो राख्नेहरु उनलाई नजिकबाट नियाल्ने गर्छन् । उनका रेडियो-टेलिभिजनका धेरै स्रोता तथा दर्शक पनि छन् । अर्थशास्त्रमा विद्यावारिधि गरेका प्याकुरेलसँग लगभग ४० वर्ष प्राध्यापन गरेको अनुभव छ । उनले पठाएका विद्यार्थी देशका गर्भनर, अर्थमन्त्री र मन्त्री भएका छन् । उनी स्वरसम्राट नारायण गोपालका नजिकका साथी पनि मानिन्छन् ।
यस्तै राजेश हमाल, शम्भुजित बास्कोटा, दीपक खरेललगायत कलाकार उनकै विद्यार्थी हुन् । प्याकुरेल अर्थविद् मात्र होइन, कुशल कूटनीतिज्ञका रुपमा पनि परिचित छन् । त्रिभुवन विश्वविद्यालयमा प्याकुरेलले पढाएका विद्यार्थीहरु नेपालमा मात्र होइन, विदेशमा समेत उच्च तहमा बसेर काम गरिरहेका छन् । ४० वर्षको हाराहारीमा अध्यापन गर्दा उनका विद्यार्थी कतिले विद्यावारिधि गरे, त्यसको लेखाजोखा नभएको उनी बताउँछन् ।
उनले बारम्बार देखाउने अर्थनीतिको मार्ग प्रत्येक सरकारका लागि अकाट्य हुँदै आएको छ । उमेरले ७४ वर्ष पुगिसकेका विश्वम्भरमा अहिले पनि उत्तिकै जोस छ । उनी नेपालको अर्थ व्यवस्था, अर्थतन्त्रका समस्या, विश्व अर्थतन्त्रमा हाम्रो उपस्थितिलगायत विषयमा निरन्तर पैरवी गरिरहेका हुन्छन् ।
प्याकुरेल केही वर्षअघि श्रीलंकाको राजदूत पनि भए । उनी असल कूटनीतिज्ञका रूपमा समेत चिनिन्छन् । जीवनको आधा उमेर अर्थशास्त्र पढाएका प्याकुरेल सरकारले सार्वजनिक गर्ने नीति, कार्यक्रम तथा योजनामा प्रायः सल्लाहकारको भूमिकामा रहन्छन् । सटिक र यथार्थपरक विश्लेषण नै प्याकुरेलका विशेषता हुन् । वरिष्ठ अर्थविद्, कूटनीतिज्ञ, साहित्यकार अनि कवि प्याकुरेलले प्राविधिक कारणले केही वर्षका लागि देश छाडेको बताएका छन् । उनको विदेश बसाइ शुभ रहोस् ।
