काठमाडौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ को तयारी पूरा भएको छ । राजधानीको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोको तयारी पूरा भएको एक्स्पो व्यवस्थापक इभेन्ट सोलुसन प्रालिले जनाएको छ ।
नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना पाँच दिन चल्ने एक्स्पोको भौतिक तयारीसमेत पूरा गरिएको हो । भदौ २३ गते बिहीबार दिउँसो १ बजे प्रदर्शनीस्थलमा एक्स्पोको औपचारिक उद्घाटन हुनेछ । वाग्मती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलनबाबु श्रेष्ठले एक्स्पो उद्घाटन गर्ने कार्यक्रम छ । बिहान १० बजेदेखि नै अवलोकनकर्ताका लागि एक्स्पोस्थल भने खुला गरिने इभेन्ट सोलुसनले जनाएको छ ।
एक्स्पोका संयोजक ओम बस्नेतका अनुसार सबै प्रदर्शकले चाडपर्व लक्षित गरी अवलोकनकर्तालाई विभिन्न किसिमका अफर सञ्चालन गर्नेछन् । प्रदर्शकहरुले विभिन्न ब्रान्डका वस्तु तथा सेवामा अवलोकनकर्तालाई अफर दिइने तयारी छ । साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको बस्नेतले जानकारी दिए ।
१०० भन्दा बढी प्रदर्शनी कक्ष रहने एक्स्पो अवलोकनका लागि कुनै शुल्क लाग्ने छैन । तर, अवलोकनकर्ताले आफ्नो विवरण रजिस्ट्रेसन डेक्समा उपलब्ध गराउनुपर्नेछ । साथै एक्स्पोको डिजिटल पेमेन्ट पार्टनर डिजी पेमार्फत पनि नि:शुल्क प्रवेश पास पाउन सकिनेछ ।
प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्स्पोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाइटेड फोम एन्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् । एक्स्पोको डिजिटल पेमेन्ट पार्टनरमा डीजी पे छ भने स्पेस म्यागिजिन, नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एसोसिएसन नेपालको सहयोग छ । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको समर्थन छ ।
बदलिदो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ । ‘किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षणका रुपमा रहनेछन् ।
पाँचदिने एक्स्पोमा एक लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । संघले सन् २०१२ देखि राजधानीमा बर्सेनि फर्निचर तथा फनिसिङ सामग्रीको बृहत् मेला ‘फर्नेक्स नेपाल’ को आयोजना गर्दै आएको छ ।
