त्यो कांग्रेस जो चहकिलो थियो । सर्वत्र कांग्रेसको लहर थियो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको सबल नेतृत्व थियो । त्यतिखेर २०४८ सालमा २०५ स्थानको प्रतिनिधिसभामा नेपाली कांग्रेसले ११० स्थान पायो । यसपछि २०५६ सालमा सम्पन्न चुनावमा नेकाले १११ सिट जितेको थियो । यस निर्वाचनमा नेकाले कृष्णप्रसाद भट्टराईलाई भावी प्रमका रूपमा अघि सारेको थियो ।
यस दुई निर्वाचनमा कांग्रेसले आफ्नै बुतामा बहुमत हासिल गरेको थियो । यता लामो समयदेखि शेरबहादुर देउवाको एकल तथा पूरै बहुमतको नेतृत्व छ नेकामा । यसैबीच शेरबहादुर देउवाको कसिलो नेतृत्वमा भएको गत चुनावमा नेकाले प्रत्यक्षतर्फ २३ स्थान मात्र जित हात पर्न सक्यो । तैपनि नेकाको प्रधानमन्त्री छ । थोरै भए पनि मनोबल छ । तर, आज धमिलो छ कांग्रेसको वर्तमान ।
आजको यो कांग्रेस जो मलिन छ, संगठन काँक्रो चिरिएको जस्तो छ । भर्खरैको स्थानीय निकायको निर्वाचनमा अरूको भन्दा थोरै बढी मत ल्याएकामा सगर्व भन्ने गरेका छन्, ‘हात्ती दुब्लाए पनि मुसा कहलिँदैन, दुब्लो हात्ती भनिन्छ ।’ अहिले गठबन्धनको भागबन्डामा यो दुब्लो हात्ती अर्थात् नेपाली कांग्रेस १६५ स्थानको संसद्का लागि जम्मा ९० सिटमा चुनाव लड्ने भएको छ । कति जित्लान् ? सबभन्दा ठूलो दल हुन्छौं भन्छन्, हाम्रै प्रम हुन्छ भन्छन् ! यी सब शुभेच्छा तथा अपेक्षाहरूको निरूपण त निर्वाचनको परिणामबाट हुने नै छ ।
शेरबहादुरजीको बारेमा कांग्रेसजनले चिन्ता गर्नु पर्दैन । यदि उहाँ प्रम हुन चाहनुभयो भने संसद्मा कांग्रेसको बहुमत नभए नि हुन सक्नुहुन्छ। ज्योतिष फलादेश आदि सब उहाँलाई उपलब्ध हुने नै छ । तर रामचन्द्रजी वा अरूका लागि त बटवृक्षका झैं कांग्रेस चाहिन्छ, प्रारब्धको के काम ? कर्णप्रिय कोइली आफ्नो गुँडमा अन्डा पार्दैन, कोरल्दैन ।
जयप्रकाश आनन्द
