समाजका हिरो, रोल मोडलहरू जो लाखौं युवाहरूका आदर्श हुन्, एकपछि अर्को गर्दै बाल यौन दुराचारमा मुछिनु दु:खद र लज्जास्पद हो । हाम्रो समाज कतातिर जाँदै छ हरेक तह ताप्काबाट सोच्ने बेला अब आएको छ ।
जिल्ला अदालत नवलपरासीले नायक पल शाहलाई बाल यौन दुराचारको फैसला सुनाउँदै सजाय तोकेको दिन, चर्चित क्रिकेटर जो अन्तर्राष्ट्रिय स्तरमा खेल्छन् सन्दीप लामिछानेविरुद्ध बालिका बलात्कारको जाहेरी परेको छ । प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको छ । अब छिटै सन्दीप लामिछानेलाई न्याय दे भन्दै सन्जालदेखि लिएर सडकसम्म स्वर सुनिने होला ।
पीडितलाई हैन पीडकलाई न्याय दे भन्ने हाम्रो समाजमा परिपाटी बसिसकेको छ । पल शाहलाई न्यायको माग गर्दै आवाज बुलन्द गर्नेहरूको यहाँ कुनै कमी थिएन ।
तनहुँ जिल्ला अदालतको फैसला आउन बाँकी छ । तर नवलपरासी जिल्ला अदालतले पललाई बलात्कारको मुद्दामा सफाइ दिँदै बाल यौन दुराचारी convicted गरेर जरिवाना र जेल सजाय फैसाला तोकेको छ । तर यो फैसला आफैंमा विरोधाभाष छ । यौन दुराचार साबित हुने तर बलात्कार साबित नहुने कसरी सम्भव छ ? पहिलो उजुरी तनहुँमा परेकाले तनहुँ अदालतले यो विषयमा केही बोल्ला !
नवलपरासी अदालतको फैसलाविरुद्ध पुनरावेदनमा जाने र सफाइ पाउने ढोका पल शाहलाई खुला छ । तर आजको दिनमा सम्मानित अदालतले पललाई बाल यौन दुराचारी साबित गरेको छ । यो पनि बलात्कार जत्तिकै या त्योभन्दा ठूलो अपराध हो ।
बाल यौन दुराचारीलाई अङ्ग्रेजीमा paedophile भनिन्छ । यो एक मानिसिक विकृति हो र रोग हो । यस्ता विकृत मानसिकताहरू सधैं बालबालिकाहरूलाई यौन दुराचार गर्ने मौकाको खोजीमा हुन्छन् । युरोप अमेरिकातिर convicted paedophile हरूलाई प्रहरी र प्रशासनले तोकिएको सजाय काटेपछि शरीरमा chip राखेर जीवन भर आफ्नो निगरानी गरिराखेको हुन्छ । उनीहरूलाई स्कुलवरपर, कैयौं सार्वजनिक स्थानमा जान प्रतिबन्ध लगाएको हुन्छ ।
आज योभन्दा धेरै नलेखूँ । मलाई थाहा छ यति संवेदनशील विषय र मुद्दामाथि लेख्दा, म माथि ठूलो जत्था जाइलाग्ने छ । तर यो पनि सत्य हो, भीडले सत्य हैन अनुहार र स्टारडम देख्छ र त्यसको पछाडिको कुकृत्य देख्दैन ।
अस्तु
नृपेश उप्रेती
