काठमाडौं । काठमाण्डौंको भृकुटीमण्डमा आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ सुरु भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनीस्थालमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलन बाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गरेका हुन् ।
एक्स्पो उद्घाटन गर्दै मन्त्री श्रेष्ठले स्वदेशी उत्पादनको बजार बिस्तार भइरहेको देख्दा खुसी लागेको बताए । फर्निचरजन्य उत्पादनको परनिर्भरता घट्दै गइरहेको अवस्थामा यसलाई थप तिब्रता दिनु पर्ने भन्दै उनले सरकार, व्यवसायी सबैले मिलेर अघि बढ्नु पर्नेमा जोड दिए । एक्स्पो आयेजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले व्यवसायीको पहलले मात्र निर्यातको बाटो पहिल्याउन सजिलो नभएको बताउँदै राज्यले अग्रसरता लिनुपर्नेमा जोड दिए । विदेशी बजार बिस्तारका लागि नै एक्स्पो आयोजना गरिएको उनको भनाइ छ ।
नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजनामा ५ दिनसम्म चल्ने एक्स्पोले फर्निचर तथा फर्निसिङका आयातित उत्पादनलाई प्रतिष्थापन गर्न टेवा पुर्याउने अपेक्षा गरिएको छ । हरेक दिन बिहान १० बजेदेखि अवलोकनकर्ताका लागि एक्स्पोस्थल खुल्ला गरिने एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ । साँझ ६ बजेसम्म प्रवेशद्धार खुल्ला राखिनेछ ।
