काठमाडौं । भृकुटीमण्डपमा आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो आज तेस्रो दिन जारी छ । शनिबार मात्र २२ हजार बढीले अवलोकन गरे। बिहीबारदेखि सुरु भएको एक्स्पोमा शनिबारसम्म ५१ हजारले अवलोकन गरेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जानकारी दिएको छ । सोलुसनका अनुसार बिहीबार १३ हजार र शुक्रबार १६ हजारले अवलोकन गरेका थिए। आइतबार र सोमबार थप ३० हजारले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको छ।
एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी स्टल छन्। प्रदर्शकहरुले चाडपर्वलाई लक्षित गरी एक्स्पो अवलोकनकर्तालाई विभिन्न अफरहरु ल्याएका छन् । यहाँ प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ। अवलोकनकर्ताले निशुल्क प्रवेशका लागि आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनु पर्नेछ। साथै एक्स्पोको डिजिटल पेमेण्ट पार्टनर ‘डिजी पे’मार्फत प्रवेश पास पाउन सकिनेछ।
किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षणको रुपमा रहेको छ। कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित सेवा पनि एक्स्पोमा महत्वपूर्ण आकर्षण भएको आयोजकले जनाएको छ ।
