काठमाडौं । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आफ्नो आठौं स्थापना दिवसको अवसरमा ‘राष्ट्रिय तालिम तथा रोजगार दिवस-२०७९’ शुभकामना तथा ध्यानाकर्षण कार्यक्रम गरेको छ । महासंघले उक्त क्षेत्रको बृहत्तर विकासको लागि बुँदागत रुपमा आफ्नो ध्यानाकार्षण गराएको छ ।
राजधानीमा शनिबार पत्रकार सम्मेलनमार्फत महासंघले स्थापना दिवसका अवसरमा सरकार र सम्बद्ध पक्षलाई ध्यानाकार्षण पनि गराएको हो । महासंघले हाल उपलब्ध जनशक्तिसँग भएको सीपको प्रभावकारिताको विश्लेषण गरेर वर्तमान बजारको माग र भविष्यमा आवश्यक पर्ने दक्ष जनशक्तिको प्रक्षेपणअनुसार योजना बनाई कार्यान्वयन गर्ने माग गरेको छ ।
आधारभूत गुणस्तर र मापदण्ड स्थापित गर्दै तालिममा एकरूपताका लागि देशैभर हाल विभिन्न तरिकाले सञ्चालन भएका तालिम कार्यक्रमहरु एकद्वारमार्फत पूर्ण रुपले सीटीईभीटी वा सम्बन्धित निकायमा आबद्ध संस्थामार्फत मात्र सञ्चालन गरिनुपर्ने पनि उल्लेख गरेको छ ।
देशका सबै राजनीतिक दलले आफ्नो घोषणापत्रमा प्रविधिक शिक्षा तथा व्यावसायिक सीप विकास तालिमको आवश्यकता, रोजगारीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने र सोहीअनुरुप यस्को कार्यान्वयन गराउनमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने पनि उल्लेख गरेको छ । यस्तै महासंघले ‘एक व्यक्ति, एक सीप र एक रोजगारी’ मौलिक हकको रुपमा सुनिश्चित गरिनुपर्ने माग पनि राखेको छ ।
