काठमाडौं । पछिल्लो समय आम मानिसले स्मार्ट जीवन बिताउन चाहान्छन् । आधुनिक युगको सुरुआतसँगै मानिसका आवश्यकता थपिँदै गएका छन् ।
अहिले सूचना प्रविधि अनिवार्य आवश्यकताभित्र पर्न थालेको छ । प्रविधिमध्ये पनि मोबाइल सबैभन्दा छिटो र सजिलो सञ्चारको माध्यम बनेको छ । आफन्तसँग कुराकानी गर्न होस्, कार्यालयको काम होस् वा समाचार हेर्न, सुन्न सबै मोबाइलकै प्रयोगबाट गर्न सकिन्छ ।
नेपालमा मोबाइल सेवाको ईतिहास त्यति लामो नभए पनि प्रविधि विकाससँगै यसको प्रयोग बहुआयामिक हुँदै गएको छ । नेपाल टेलिकमले सर्वसाधारणलाई पोस्टपेड र प्रिपेड सिमकार्ड वितरण गर्न थालेसँगै नेपालीको सूचना प्रविधिमा पहुँच बढ्दै गएको हो ।
कुनै समय नोकिया फोनले एकछत्र राज गरेको नेपाली बजारमा अहिले धेरै उत्कृष्ट ब्राण्डले राज गरेका छन् । केही कम्पनीबीच प्रतिस्पर्धाको होडबाजी नै चलिरहेको छ । यतिबेला सामसङ, रेडमी एमवानका सेरिज, रियल मी, वानप्लस, ओप्पो, नोकिया, टिटिएललगायतका ब्राण्ड बिक्री हुने ताम्राकार कप्लेक्सस्थित बेस्ट टिच सेन्टरका म्यानेजर कृष्ण महतले बताए ।
उनका अनुसार रेड्मी पछिल्लो समय सबैभन्दा राम्रो बिक्री हुने गरेको छ । उनले भने,‘रेड्मीका सबैभन्दा कम मूल्यका रु १३ हजारदेखि धेरै रु ९५ हजारसम्मका मोबाइल अहिले बजारमा उपलब्ध छन् ।’ सामान्य विशेषता भएका मोबाइल विद्यार्थी र घरमा बस्ने आमाबुवाले मात्र प्रयोग गर्ने उनको भनाइ छ । उनले भने, ‘नर्मल रेञ्जका मोबाइलमा दुई जिबी र्याम, ३२ जिबी इन्टर्नल मेमोरी, नर्मल क्यामेरा आठ एमबी, ब्याट्री पाँच हजार एमएस र डिस्प्ले छ सय पाँच रेञ्जको हुन्छ, यस्तो फोनबाट सामान्य काम गर्न सकिन्छ ।’
महँगो मोबाइल व्यवसायी र विशेषगरी धनाढ्य परिवारका विद्यार्थीले खरिद गर्ने उल्लेख गर्दै उनले युवायुवतीले मोबाइलमा गेम खेल्न वानप्लसको मि को सेरिज उपयुक्त हुने बताए । आइफोनको बिक्री अहिले खासै नभएको भन्दै महतले दसैँ नजिकिए पनि व्यापार भने सरकारी बिदा भएपछि मात्र सुरु हुने जानकारी दिए । अहिले मोबाइल युवाको व्यक्तित्व झल्काउने वस्तुका रुपमा समेत बुझ्न थालिएको देखिन्छ । मानिस सबै छाडेर पनि मोबाइलबाट भने टाढा हुन नसक्ने अवस्थामा पुगेको छन् । नेपाली समाज सुहाउँदो हरेक किसिमका मोबाइल फोन नेपाली बजारमा उपलब्ध छन् ।
विगत दुई वर्ष कोरोना महामारीले व्यापार चौपट बनाएको उल्लेख गर्दै त्यसको असर अहिलेसम्म हट्न नसकेको टु फोर सिक्स इम्पेक्स प्रालीका सञ्चालक विवस सुवेदी बताउछन् । उनले भने, ‘अहिले व्यापारको अवस्था अन्तिम वर्षको भन्दा कम छ ।’
महँगो मूल्यका मोबाइल खोज्ने उपभोक्ताको सङ्ख्या निकै कम भएको भन्दै उहाँले रु १५ देखि २० हजार रेञ्जका मोबाइल नै बढी बिक्री हुने बताए। ‘सामान्य रेञ्जका मोबाइलमा छ जिबी र्याम, १२ जिबी इन्टरनल मेमोरी, दुई सय २८ जिबी इन्टर्नल मेमोरी हुन्छन् र हाइरेञ्जमा चार जिबी र्याम, ६४ जिबी इन्टनल मेमोरी हुन्छन्’, उनले भने । उपभोक्ताले आफ्नो क्षमताअनुसार मोबाइल खरिद गर्ने उनको भनाइ छ ।
सरकारले लगाएको तीन सय डलर माथिको सामानमा लगाएको प्रतिबन्धले नेपाली बजारमा फोन नै कम आएको ओरेञ्ज फेयर डिलका म्यानेजर विवेक पौडेल बताउछन् । उनले भने, ‘अहिले मार्केटमा बिक्री हुने तीन सय डलरभन्दा कम मूल्यका मोबाइल हुन्, पछिल्लो समयमा पुरानो स्टक भएका फोनमा वान प्लसका सेरिज महँगो रेञ्जमा आएको छ ।’ सामसङ एस सेरिज स्टक सकिएर समस्या आइरहेको उनको भनाइ छ ।
उनका अनुसार बजारमा रु १५ देखि ३० हजारसम्म मूल्य भएका मोबाइल बिक्री भइरहेका छन् । ‘अहिले ग्राहकहरुले क्यामेराको गुणस्तर, र्याम, रोम बढी भएका मोबाइल मात्रै खोज्छन्, आजभोलि धेरै खोजिने भनेकै क्यामेराको हाइ मेघापिक्सल हो’, उनले भने । ओप्पो र सामसङ ब्राण्डका मोबाइल नै बढी बिक्री भइरहेको उनको दाबी छ । सामसङ कम्पनीका मोबाइल रु २२ हजार देखि रु ५५ हजार रेञ्जका बढी बिक्री हुने उनले बताए ।
त्यस्तै सामसङको उच्च रेञ्जमा एस २२ अल्टा आएको र आयातमा समस्या भएकाले उपभोक्तालाई सबै भेरियन्टमा उपलब्ध गराउन नसकेको पौडेलले गुनासो पोखे । यसको मूल्य बजारमा रु एक लाख ७० हजारदेखि रु ८० हजारसम्म रहेको बताए ।
पौडेलले ओप्पो ब्राण्डको रु ४५ हजार मूल्यको पछिल्लो समय एफ २१ प्रो मोबाइल आएको बताउँदै त्यसमा सोनीको सात सय नौ क्यामेरा प्रयोग भएकाले उत्कृष्ट काम गर्ने दाबी गरे। युवाले रोज्ने मोबाइलको मूल्य रु ४० देखि र ६० हजारसम्म पर्ने उनको भनाइ थियो ।
बजारमा रु दुई लाख ३५ हजार पर्ने सबैभन्दा महँगा मोबाइल व्यवसायीले खरिद गर्ने उनको भनाइ छ । सामसङ, ओप्पो र भिभोमा समस्या कम देखिएको र टिटिएल, लाभाका ब्राण्डमा समस्या धेरै देखिएको उनले स्पष्ट पारे । उनले भने, ‘तिनीहरुमा सफ्टवयर इस्यु बढी आउने देखिएको छ ।’
पौडेलले दसैँ विशेष व्यापार सुरु नभइसकेको बताउँदै उपभोक्ताले विभिन्न ब्राण्डको अफर पर्खिरहेको टिप्पणी गरे । एक सातादेखि खासै व्यापार नभएको भन्दै उनले कम्पनीका अफरबारे थाहा पाएलगत्तै उपभोक्ताको सङ्ख्या ह्वात्तै बढ्ने विश्वास व्यक्त गरे।
सामसङ कम्पनीको मोबाइल खरिद गर्न आउनुभएका विद्यार्थी सन्दिप शर्माले १२ जिबी र्याम, एक सय २८ जिबी इन्टर्नल मेमोरी, कभर, क्यामेरा उत्कृष्ट, प्रोसेसर जस्ता विशेषता भएको मोबाइल खरिद गर्न खोजेको बताए । उक्त विशेषता भएका मोबाइलमा अध्ययन गर्न र गेम खेल्न सजिलो हुने उनको विश्वास छ ।
कलेजमा अध्ययनरत रोजिना कार्कीले आफ्नो बजेटअनुसार फिचर राम्रो भएको मोबाइल किन्न बजार आएको बताए । बजारमा आएका ब्राण्डमध्ये आफूलाई वान प्लस मन परे पनि रकम अभावले रेड्मी खरिद गर्ने सुनाए। ‘रेडमीमा पनि र्याम, रोम र प्रोसेसर उत्कृष्ट छ’, उनले भने ।
इलामका ऋषव तामाङले आइफोन १४ सेरिज भर्खरै लञ्च भएको भन्दै त्यसबारे बुझ्न आएको बताए । आइफोन १४ मा इन्टरनेट उपलब्ध नभए पनि अप्ठ्यारो परे तत्काल उद्धार गर्न सकिने नयाँ प्रविधि आएको उनले जानकारी दिए । वान प्लस, सामसङ, शाओमीको एमआइमा राम्रो फिचर रहेको उनको भनाइ छ । ‘आइफोनबाहेक मलाई रेड्मी (एमवान) नै मन पर्छ, त्यसमा अन्य कम्पनीको तुलनामा एउटै मूल्यमा पनि राम्रो विशेषता रहेका छन्’, उनले भने ।
