काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र विज्ञापन बोर्डको संयुक्त आयोजनामा विज्ञापन आचारसंहिता र विज्ञापनको राष्ट्रिय नीतिका विषयमा छलफल भएको छ ।
महासंघ सचिवालयमा आइतबार आयोजना गरिएको कार्यक्रममा महासंघ, बोर्डका पदाधिकारी, उद्यमी व्यवसायीहरू, विज्ञापनदाता र सञ्चारमाध्यमका व्यवस्थापकहरूको सहभागिता थियो । विज्ञापन बोर्डले केही महिनाअघि मात्र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ सार्वजनिक गरेको थियो ।
कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले अर्थतन्त्रको विस्तारका लागि महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रुपान्तरण भिजन पेपरको कार्यान्वयनबाट नेपालमा विज्ञापन वजारको दायरालाई फराकिलो पार्ने कार्यमा समेत ठूलो सहयोग धारणा व्यक्त गरे ।
‘अर्थतन्त्र संकुचन हुँदा उद्योग, व्यापार, व्यवसाय र विज्ञापन व्यवसाय पनि संकुचन हुने कुरालाई हामीले प्रत्यक्ष रुपमा भोग्दै आएका छौं,’ अध्यक्ष गोल्छाले भने, ‘करिब पौने १५ अर्बको विज्ञापन बजार यदि अवस्था सहज भइदिएको भए आजको दिनसम्म करिब २० अर्बकाे हाराहारी पुग्ने थियो तर कोभिडका कारण यसमा ठूलो धक्का लाग्न गयो ।’
कुल विज्ञापनमा स्वदेशी विज्ञापनको अंश करिब ६० प्रतिशत र विदेशी विज्ञापनको अंश करिब ४० प्रतिशत रहेको बताउँदै गोल्छाले विज्ञापनसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुन सकेमा यो क्षेत्रको भविष्य निकै राम्रो भएकाे बताए । बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईं आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा विज्ञापनदाता र महासंघको सहयोग बोर्डका लागि महत्त्वपूर्ण रहने बताए । बोर्डका कार्यकारी अध्यक्ष हुमागाईले विज्ञापन व्यवसायलाई स्वच्छ मर्यादित, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यले विज्ञापनको राष्ट्रिय नीति ल्याउन खोजिएको समेत स्पष्ट पारे ।
