काठमाडौं । आज (बुधबार) देखि बैंक तथा वित्तीय संस्थाहरुबाट दसैँका लागि नयाँ नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार हिजो मंगलबारसम्म २५ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई २ अर्ब रुपैयाँ बढी नयाँ नोट वितरण गरिएको छ ।
सर्वसाधारणले राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट नयाँ नोट साट्न सक्नेछन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बढी २ पटकसम्म नयाँ नोट वितरण गर्ने बताइएको छ ।
बैंकहरुलाई बढीमा असोज ७ गतेसम्म नयाँ नोट दिइने र सर्वसाधारणले असोज १४ गतेसम्म नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार प्रतिव्यक्तिले ५, १०, २०, ५० र १०० दरका गरी कुल १८ हजार ५ सय रुपैयाँ नयाँ नोट सटही गर्न सक्नेछन् ।
