काठमाडौं। सरकारले ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोक्ता अभिवृद्धि कार्यक्रम’ सुरु गर्ने भएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति तथा कार्यक्रममा उत्पादनमा वृद्धि:मुलुकको विकास र समृद्धि विशेष अभियान दशक, २०७९/८९ घोषणा गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सो कार्यक्रम सुरु गर्ने तयारी गरेको छ ।
उक्त कार्यक्रको अवधारणापत्र सम्बन्धमा मन्त्रालयद्वारा बुधबार आयोजित अन्तरक्रियामा मन्त्री दिलेन्द्रप्रसाद बडूले खासगरी उद्योगको क्षेत्रबाट मुलुक आयातमा निर्भर बन्दै गइरहेको अवस्थामा निर्यात अपेक्षाअनुसार बढाउन नसकिरहेको अवस्थामा आयातमा निर्भर हुने अर्थतन्त्रलाई उकास्न ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोक्ता अभिवृद्धि कार्यक्रम’ लाई कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।
मुलुकको अर्थतन्त्र सुधारका लागि उत्पादन तथा उपभोक्ता अभिवृद्धि कार्यक्रम प्रभावकारी हुने बताउँदै उनले त्यसलाई विशेष अभियानको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए। मन्त्री बडूले कार्यक्रमलाई सफल बनाउँदै अगाडि बढाउन र उत्पादन बढाउनका निमित्त कृषि मन्त्रालय र अन्य मन्त्रालयको पनि विषय भएकाले स्पष्ट सुझावसहित समन्वयका आधारमा अगाडि बढ्ने बताउ।
‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोक्ता अभिवृद्धि कार्यक्रम’ ले कूल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक क्षेत्रको योगदान हालको पाँच/सात प्रतिशतबाट दश वर्षभित्र १५ प्रतिशत पुर्याउने र उपभोग्य वस्तुको आयात क्रमशः घटाउँदै नेपाली उत्पादन र उपभोगमा अभिवृद्धि गर्ने उद्देश्य लिएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्पष्ट नीति बनाएर आगामी चार/पाँच वर्षमा आयातलाई रोक्ने र निर्यातलाई बढवा दिने गरी सम्बन्धित निकायको सल्लाह र सुझावको आधारमा कार्यक्रम अगाडि बढाउन सुझाव दिए ।आयातलाई कम गर्नको लागि उत्पादन बढाउनुका साथै चोरी पैठारीबाट आउने सामानलाई रोक्नुपर्ने उनको भनाइ छ।
सांसद प्रमोद यादवले निर्यात बढाउन सबैभन्दा नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए। सरकारका पूर्वमुख्यसचिव विमल कोइरालाले मुलुक आर्थिकरुपमा आत्मनिर्भर बन्नको निम्ति सरकारले स्वदेशी उद्योगलाई प्राथमिकता दिएर उत्पादनमा जोड दिनुपर्ने सुझाव दिएका छन् ।अर्थमन्त्रालयका पूर्वसचिव रामेश्वर खनालले नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने बताए ।
