लमजुङ । माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका ६, ढोडेनीमा निर्माण गरिएको २५ मेगावाट क्षमताको आयोजनाको निर्माण पूरा भएको हो ।
आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीले भने, ‘हालसालै यस आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेका छौं । अब एक साताभित्रमा बिजुली उत्पादन परीक्षण गर्ने तयारी भइरहेको छ ।’ नेपाल विद्युत् प्राधिकरणको अनुमति एवं त्यहाँका कर्मचारी आएसँगै बिजुली उत्पादन परीक्षण सुरु गर्ने आयोजनाले जनाएको छ । आयोजनाको बिजुली उत्पादन परीक्षण सफल भएमा राष्ट्रिय प्रसारण लाइनमा छिटै जोडिने भएको छ । आयोजनाको पेनस्टक पाइपमा र टनेलमा पानी भर्ने, हेडबक्समा गत वर्ष बाढीले क्षति बनाएकामा मर्मतलगायत सबै काम सम्पन्न भएको प्रवर्द्धक वस्तीको भनाइ थियो ।
‘आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार सात सय मिटर लामो भूमिगत सुरुङ र दुई हजार सात सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत्गृहमा झारिनेछ,’ वस्तीले भने, ‘यसको सफल परीक्षणसमेत भइसकेको छ ।’ यो आयोजना तीन अर्ब ९६ करोड रुपैयाँमा निर्माण गर्ने लक्ष्य रहेकामा लागत बढेर अहिले चार अर्ब ६३ करोड ६० लाख पुग्ने आयोजनाले जनाएको छ । आयोजना २०७१ सालदेखि निर्माण सुरु गर्दै २०७४ मा निर्माण पूरा गर्ने लक्ष्य रहेकामा विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र २०७६ भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण गर्न सकिएको थिएन ।
सम्झौताअनुसार आयोजना सम्पन्न गर्न नसक्दा पटक-पटक म्याद थप गर्दै आइएको थियो । यस आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख रुपैयाँ लाग्ने कम्पनीको अनुमान छ । आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसा हुने गरी प्रवर्द्धक कम्पनी लिबर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको छ । आयोजनामा १२ दशमलव पाँच प्रतिशतका दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ ।
