काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियासँग छिटै श्रम-सम्झौता हुने बताएका छन् ।
नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमद र मन्त्री कुँवरबीच शुक्रबार भएको भेटमा मन्त्री कुँवरले दुई देशबीचको श्रम सम्झौताको काम अगाडि बढिरहेको बताएका छन् । राजदूत हैमद मन्त्री कुँवरलाई भेट्न शुक्रबार मन्त्रालय आएका थिए ।
भेटमा साउदी अरेबियामा काम गर्ने नेपाली श्रमिकको सुरक्षाका विषयमा छलफल भएको छ । मन्त्री कुँवरले साउदी अरेबियामा काम गर्न जाने नेपालीको समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले साउदी अरेबियासँग नेपालले समयमै द्विपक्षीय श्रम-सम्झौता गर्न नसकेकाले श्रम आप्रवासनका क्षेत्रहरु व्यवस्थित हुन नसकेको बताएका छन् ।
उनले नेपालबाट साउदीमा सीपयुक्त जनशक्ति पठाउन त्यहाँको सरकारले पनि सहयोग गर्नुपर्ने बताए । त्यस्तै उनले साउदीमा काम गर्ने नेपाली कामदारलाई त्यहाँको सरकारले रोजगारको अवधि सकिएपछि बहिर्गमन भिसा समयमै नदिँदा नेपालीले कामदारले समस्या भोग्ने गरेकाले यसमा विशेष सहयोग गरिदिन आग्रहसमेत गरेका छन् । भेटमा राजदूत हैमदले नेपाल र साउदी अरेबियाको सम्बन्ध मैत्रीपूर्ण भएकाले नेपाली कामदारले भोग्ने गरेका समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने वचन दिएका छन् ।
