काठमाडौं । राष्ट्रिय चलचित्र दिवस आज (शनिबार) विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक बर्ष असोज १ गते राष्ट्रिय चलचित्र दिवस मनाइने गरिन्छ । चलचित्र विकास बोर्डले सन् २०१२ मा हरेक वर्ष असोज १ गतेका दिन यो दिवस मनाउने मिति तय गरेको हो ।
चलचित्र विकास बोर्ड सन् २००० को ३० जुनमा स्थापना भएको हो । जसको मुल उद्देश्य चलचित्रको सुधार अनि चलचित्रकर्मीहरुको संस्थागत बिकास गर्नु रहेको छ। सन् १९५१ मा नेपाली भाषाको चलचित्र सत्य हरिशचन्द्र भारतको कोलकातामा निर्माण सुरु गरिएसँग नेपालमा चलचित्रको बिकास हुँदै गएको मानिन्छ ।
पछिल्लो नेपाली चलचित्रको विकास प्रविधिको विकाससँगै निकै फराकिलो हुँदै गएको छ । भारतीय दक्ष कलाकार अनि प्रविधि आयात गरेर बनाइने सुरुवाती नेपाली चलचित्रहरु अब ५० वर्षपछिको अवस्थामा आफैंमा निर्भर र विश्व गुणस्तरका हुन थालेका छन् ।
