काठमाडौं । नेपालको तराई क्षेत्रमा आजदेखि तीन दिनसम्म जितिया पर्व मनाइँदै छ । मैथिल र थारु समुदायका महिलाले यो पर्व मनाउने गर्छन् । जितिया पर्वको आज पहिलो तथा मुख्य दिन घरमै बसेर चोखो नितो गरेर निराहार बस्न सुरु गरिन्छ ।
यस व्रतमा थुक पनि निल्न नहुने र ७२ घण्टासम्म निराहार उपवास बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा लिइने गरिएको छ। आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका यो पर्व मनाउने गरिन्छ । हरेक साल नाच्दै–गाउँदै तामझामका साथ मनाइने पर्व जितियाले महत्वपूर्ण सांस्कृतिक पक्षलाई समेटेको छ ।
जितियाको दोस्रो दिन भने महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् । नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने चलन छ । बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने गरिन्छ । साँझ जितिया पर्वको कथा सुनेर मात्र खाने चलन छ ।
यस्तै, नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाउँछन् । निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्ने चलन छ । नदी तथा खोलामा नुहाएर घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खाएपछि व्रत सकिने परम्परा छ । विवाहित महिलाले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै जितियाको ब्रत बस्ने गर्छन् । पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।
