काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १८ सय विन्दुमा ओर्लिएको छ । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार ३३ दशमलव ९७ अंकले ओरालो लागेर १८ सय ७६ दशमलव ४१ विन्दुमा खुम्चिएको छ । यस्तै सेन्सिटिभ इन्डेक्स पनि ६ दशमलव चार अंकले ओरालो लागेर तीन सय ६५ दशमलव ८६ विन्दुमा झरेको छ ।
१३ उपसमूहअन्तर्गत आइतबार २२९ कम्पनीको सेयर खरिद-बिक्री भएका छन् । जसबाट २७ हजार सात सय ९० पटकको कारोबारमा ६२ लाख ९६ हजार चार सय ४५ कित्ता सेयर खरिद-बिक्री भएकामा कारोबार रकम एक अर्ब ६० करोड १८ लाख २५ हजार नौ सय ५५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज कारोबार भएका कुल उपसमूहमध्ये सबै उपसमूहको सूचक ओरालो लागेर राताम्मे भएको छ ।
जीवन बिमा समूहको सूचक दुई सय २१ दशमलव ८३ अंकले घटेर आठ हजार आठ सय ८८ दशमलव ७० अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।
नेप्सेमा आइतबार ग्लोबल आईएमई समुन्नत योजना १ को प्रतियुनिट सेयर मूल्य पाँच दशमलव ३५ प्रतिशतले बढेर आठ रुपैयाँ ८६ पैसामा कारोबार हुँदा बलेफी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ८६ प्रतिशतले घटेर दुई सय ७० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
