काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले निश्चित अवधिपछि विद्युतीय सवारी मात्रै चल्ने व्यवस्था गर्न लागेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा बिहीबार चारदिने नाडा ईभी एक्स्पोको शुभारम्भ गर्दै मन्त्री शर्माले सो कुराको जानकारी गराएका हुन् । उनले पेट्रोलियम पदार्थबाट चल्ने सवारी कहिले रोक्ने भन्ने विषयमा अध्ययन गरिरहेको पनि जनाएका छन् ।
उनले विद्युतीय गाडी प्रवर्द्धन गर्ने नीतिबाट सरकार पछि नहट्ने जनाए । ईभी एक्स्पो नाडाको मात्रै नभई देशकै भएको अर्थमन्त्री शर्माको भनाइ छ । ‘विद्युतीय गाडीलाई प्रवद्र्धन गर्दै आएका छौं। त्यसबाट पछि हट्दैनौं,’ मन्त्री शर्माले भने,‘अब कोईला, डिजेल, पेट्रोलको युग सकियो अब ईभी, हाइड्रोजनतर्फ गइरहेका छौं ।’
‘गाडी उत्पादन यहि गर्नुहोस् विद्युत र ब्याजमा थप सहुलियत दिनुपर्छ,’उनले भने,‘एसेम्बल उद्योगमा भ्यालु एड कसरी गर्न सकिन्छ । त्यसमा ध्यान दिनुस् ।’ नेपालको इतिहासमै पहिलो पटक नाडा ईभी एक्स्पो भृकुटीमण्डपमा शुरु भएको नाडा अध्यक्ष धुब्र थापाले बताए । उनले नेपालमा विद्युतीय सवारी साधनको अपरिहार्यतालाई महसुस गर्दै नाडा ईभी एक्स्पो शुभारम्भ भएको जानकारी दिएका छन् ।
विद्युतीय सावरी साधनको महत्व बढ्दै गएको बताउँदै अध्यक्ष थापाले ईभी एक्स्पो प्रदुषण कम गर्ने मात्र नभई विद्युत खपतमा सहयोग पुग्ने बताए। वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगले पेट्रोलियम पदार्थको खपत कम गर्ने भएकाले ग्रिन नेपालको अवधारणा साकार हुने नाडाको ठहर छ । नाडा अध्यक्ष थापाले सरकारले गाडी आयातमा प्रतिबन्ध लगाउँदा ९ महिना देखी अटो व्यवसायी मारमा परहेको जानकारी गराए । कार, जिप, भ्यान र १५० सीसी माथीका मोटरसाइकल आयात खुल्ला गर्न अर्थमन्त्रीसँग माग गरे ।
उनले सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने बताईरहदाँ सय किलोवाट माथिका गाडीमा कर बढाउनु उपयुक्त नभएको जनाए । ‘सरकारले सय किलोवाट माथिका गाडीमा कर बढाउँदा प्रोत्साहनको सट्टा निरुत्साहन भएको छ,’ अध्यक्ष थापाले अर्थमन्त्रीलाई इंगित गर्दै भने,‘नेपालको भौगलिक अवस्था अनुसार २०० किलोवाट क्षमतासम्मका गाडीलाई पुरानै व्यवस्था अनुसार कर कायम गरिदिन अनुरोध गर्दछु ।’
सरकारले नेपालमै गाडी एसम्बल गर्न आग्रह गरेपनि त्यसका लागि स्थिर नीति आवश्यक रहेको नाडाले उल्लेख गरेको छ । अध्यक्ष थापाले सरकारले स्थिर नीति लिए व्यवसायी पार्ट पुर्जाको उद्योग समेत खोल्न तयार रहेको दाबी गरे । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको सहुलियतका कारण ३०–३५ लाखमै गाडी पाउने अवस्था रहेको जनाए । अध्यक्ष गोल्छाले सरकारको नीति स्थिर रहनु पर्ने बताउँदै अन्तशुल्क र भन्सार महशुल बढाउन नहुने उल्लेख गरे । वातावरण संरक्षण गर्नको लागि विद्युतिय गाडीलाई प्रोत्साहन गर्नु पर्ने धारणा उनको छ ।
नाडाले १९९८ देखी नै नाडा अटो शो गर्दै आएको छ । नाडा ईभी एक्स्पोका सभापति अनुप बरालले एक्स्पोमा ५१ वटा स्टल रहेको जानकारी दिए । उनका अनुसार नाडा ईभी एक्स्पोमा ९ वटा ४ पाग्रे र १ वटा ३ पाग्रे रहेका छन । १६ वटा २ पांग्रे सवारीका स्टल रहेका छन् ।
एक्स्पोमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाईडी, चांगन, ज्यागका चारपांग्रे विद्युतीय गाडी राखिएका छन् । अग्नी ग्रुपले ३ पांग्रे टेरो ब्रान्ड राखेको छ । दुई पांग्रे ब्रान्ड पनि रहेका छन । जसमा लेभ्निङ, एनआईयु, यडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्स लगायतका ब्रान्ड छन् ।
चापको व्यवस्थापनको लागि नाडाले खल्ती एप मार्फत टिकट काट्न सकिने व्यवस्था गरेको छ । एक्स्पोमा प्रवेशको लागि विद्यार्थीलाई १५० रुपैयाँ र सर्वसाधारणको लागि २०० रूपैयाँ व्यवस्था गरेको छ । सिएटद्वारा प्रायोजित नाडा सवारी साधन, पार्ट पूर्जा, वित्तिय सेवा उपलब्ध रहेका छन् । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरेको छ । नाडाले १० प्रतिशत बजार हिस्सा ओगटी सकेको छ । अबको ५–६ वर्षमा ५० प्रतिशत बढी हिस्सा हुने आकलन गरिएको छ ।
नेपाली चाड-पर्वको अवसरमा आयोजना भएको एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बन्धित सम्पूर्ण अटो व्यवसायीको व्यापार प्रवर्द्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्ने नाडाको विश्वास छ ।
