• ट्रेण्डिङ्ग :
तस्बिरसहित
कोटेश्वर-सूर्यविनायक सडकमा स्मार्ट बत्ती, झिलिमिली बन्यो सडक !

कोटेश्वर-सूर्यविनायक सडकमा स्मार्ट बत्ती, झिलिमिली बन्यो सडक !


  • 5.0K
    SHARES
    • आश्विन ११, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    कोटेश्वर-सूर्यविनायक सडकमा स्मार्ट बत्ती, झिलिमिली बन्यो सडक !

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राधिकरणले कोटेश्वर-सूर्यविनायक खण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रिप/आइल्यान्डमा बत्ती जडान गरी सञ्चालनमा ल्याइएको हो ।
     
    आइल्यान्डमा राखिएका पोलहरुमा प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती जडान गरी सञ्चालनमा ल्याएपछि कोटेश्वर-सूर्यविनायक खण्ड झिलिमिली बनेको छ । विद्युत् कम खपत गर्ने तर उज्यालो बढी दिने करिब ४५० बत्ती जडान गरिएको हो । यसबाट सडकको रात्रिकालीन सौन्दर्य देख्न तथा अवलोकन गर्न सकिनेछ ।

    images

    काठमाडौं महानगरपालिका, मध्यपुरथिमि र भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक बत्तीको महसुल तिर्ने व्यवस्था मिलाइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्य बढाउन स्मार्ट स्ट्रिट लाइट जडान गरिएको बताए । ‘सडक बत्ती जडान भएपछि पैदलयात्रु र सवारी चालकलाई फाइदा पुगेको छ,’ उनले भने, ‘उज्यालो भएपछि सडक सुरक्षित बनेको छ, साथै सडक सुन्दर बनेको छ, यसबाट सहरी सौन्दर्य पनि बढेको छ ।’

    smart-street-light-4.jpg

    प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइट नियन्त्रण गर्न सकिन्छ । कोटेश्वर-सूर्यविनायक खण्डका लागि १३ फिडर प्यानल जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ ।

    स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सीधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युत्‌को महसुलको बिलिङ गरिन्छ । बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ ।

    प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदामा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ । यसबाट सहरको सौन्दर्य बढ्ने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ ।
    पालिकाहरुको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान भइरहेको छ ।

    smart-street-light-3.jpg

    smart-street-light.jpg

    smart-street-light-2.jpg

  • सम्बन्धित विषय:

  • # विद्युत् प्राधिकरण

  • तेस्रो आँखा