काठमाडौं । सेयर बजार आज (बुधबार) पनि बढेको छ । ६ दशमलव ४१ अंकले बढेको नेप्से १८ सय ३७ दशमलव ४६ अंकमा पुगेको छ । यस्तै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४५ अंकले बढेर तीन सय ५९ दशमलव ५९ अंकमा पुगेको छ ।
नेप्से झिनो अंकले बढे पनि कारोबार रकम भने घट्दै गएको छ । नेप्सेमा साताको चौथो कारोबार दिन बुधबार २२१ कम्पनीको सेयर कारोबार भएको छ । बुधबार ११ हजार नौ सय २७ पटकको कारोबारमा १३ लाख ७० हजार चार सय ७७ कित्ता सेयर खरिद-बिक्री भएको छ । बुधबार कुल कारोबार रकम भने ४८ करोड ५४ लाख आठ हजार सात सय ६८ रुपैयाँ पुगेको छ ।
१३ समूहको कारोबार भएकोमा बुधबार चार समूहको सूचक घटेर बाँकी ९ समूहको सूचक मात्र बढेका छन् । नेप्सेमा बुधबार मन्दाकिनी हाइड्रो पावर कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव २० प्रतिशतले बढेर तीन सय ७४ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ भने जीआईबीएफ १ को प्रतियुनिट सेयर मूल्य १० प्रतिशतले घटेर नौ रुपैयाँमा प्रतियुनिट सेयर कारोबार भएको छ ।
