• ट्रेण्डिङ्ग :
प्रहरीका व्यवहार !
तैपनि देश चलेकै छ विभिन्न अवतारमा...

तैपनि देश चलेकै छ विभिन्न अवतारमा...


  • 6.4K
    SHARES
    • आश्विन २१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    तैपनि देश चलेकै छ विभिन्न अवतारमा...

    सन्दीप लामिछानेको पक्राउका सन्दर्भमा प्रहरीले अपनाएको तरिकाबारे गम्भीर चर्चा उठेको छ । प्रहरीले सबै अभियुक्तसँग समान व्यवहार गर्दैन भन्ने प्रश्नबारे सामाजिक सन्जालहरूमा चर्चा छ ।

    images

    यस्तो प्रसंग निकै अघिदेखि उठेको हो । राजबन्दीहरूसंग थुनामा दुर्व्यवहार गरिएको छ । हिरासतमा यातनाका कारणले थुनुवाहरूका मृत्यु भएको छ । शान्तिपूर्ण प्रदर्शनकारीउपर प्रहरीले ज्यादति गरेको छ । प्रदर्शन नियन्त्रणका सबै वैकल्पिक उपायहरूलाई छाडेर प्रहरीले नृशंसतापूर्वक गोली प्रहार गरेर दर्जनौंको हत्या गरेका घटनाहरू छन् । यस्ता मानवताविरोधी घटनाहरूको यदाकदा चर्चा हुन्छ । तर, सेलाएर जान्छ । मानव अधिकारवादी तथा नागरिक समाजले यस्ता घटनाहरूको विरोधलाई निरन्तरता दिँदैनन् ।

    २०४२ सालमा पक्राउ परेका साकेतचन्द्र मिश्र, दिलीप चौधरीलगायत कैयौं राजबन्दी बेपत्ता पारिए । उनीहरू थुनामै मारिए । मेरै आँखा अगाडिबाट राजविराजमा पक्रिएका हरि झोल (भुजेल) थुनाबाट कहिल्यै फर्किएनन् । गणेश साह पछि मन्त्री भए, अहिले माओवादी पार्टीका नेता हुन् । पञ्चायतकालमा यिनलाई गिरफ्तार गरी महिनौं अन्य बन्दीहरूसँगै थुनामा राखिएको थियो, पछि प्रहरीले गिरफ्तारीलाई इन्कार गर्यो । गणेश साह थुनामा परेको बेला सरकारी चिकित्सकसँग जँचाएको प्रेस्कृप्सन औषधि किनेर पठाउनका लागि एक आफन्तलाई दिएका थिए । यही प्रेस्कृप्सनले गणेश साहको ज्यान जोगियो ।

    ०४५ सालमा म स्वयंलाई डिल्लीबजारको सडकबाट सयौं मानिसका आँखा अगाडिबाट गिरफ्तार गरिएको थिए । थुनामा म, वरिष्ठ पत्रकार पदम ठकुराठी, राजनीतिक नेताहरू बलबहादुर केसी, प्राध्यापक जीवराज पोख्रेलहरूसँगै लामो समयसम्म रहेको थिएँ । मउपर राज्यविरुद्धको अपराधमा बयान लिई कारबाही चलाइएको थियो । मेरा विषयमा बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दिइयो । नयनबहादुर खत्री प्रधान न्यायाधीश थिए, अदालतले मलाई हाजिर गराउने आदेश दिएकामा प्रहरीले निजलाई थुनामै नराखिएको लिखित जवाफ दियो र अदालतले त्यस जवाफलाई पत्यायो । यस्ता सयौं उदाहरणहरू छन् ।

    पञ्चायतकालमा मरिचमान सिंहको प्रधानमन्त्रीत्वको बेलामा कर्ण ह्याजुको हत्या अभियोगमा भक्तपुरका वामपन्थी नेता नारायणमान बिजुक्छे थुनामा थिए । हतकडीसहित उपचारार्थ नारायणमान बिजुक्छेलाई भक्तपुर अस्पताल पुर्याउँदा डा. अशोकानन्द मिश्रले हतकडी नखोली उपचार गर्न नमान्दा जागिर गुमाए । यति मात्र होइन, निलम्बित डा. अशोकानन्द मिश्रलाई चौबीस घण्टाभित्र वाग्मती अञ्चल छाड्न आदेश दिइयो ।

    डा. मुरलीप्रसाद सिंह मोरङ रंगेली अस्पतालमा मेडिकल अधिकृत थिए । नेता गजेन्द्रनारायण सिंह अचानक बिरामी भई रंगेली अस्पताल पुर्याईएका थिए । गजेन्द्रनारायण सिंह जो डा. मुरली सिंहका नातेदार पनि थिए- उनको उपचार गरेबापत डा. मुरली सिंहलाई सरकारी जागिरबाट हटाई चौबीस घण्टाभित्र मोरङ छाड्न बाध्य पारियो ।
     
    केही महिनापहिले सांसद निर्वाचित रेशम चौधरी डिल्लीबजार जेलमा बिरामी भए । सिकिस्त भएपछि उनलाई वीर अस्पतालमा भर्ना गरियो । वीर अस्पतालमा रेशमलाई खुट्टाको नेल लगाई नेलसहित अस्पतालको फलामे बेडमा बाँधिदिँदा पनि डाक्टरले केही बोलेन । केपी ओली जो पञ्चायतकालमा सबभन्दा बढी यातना भोग्नेमध्येका हुन् उनी मुलुकको प्रधानमन्त्री भएका बेला यो कार्य भयो । शासन-सत्तामा रहेका कसैले पनि यस अमानवीय कार्यको निन्दा गरेन । यस्तै दुखःबाट गुज्रेका नारायणमान बिजुक्छेले पनि एक शब्द बोलेनन् ।

    गलतलाई गलत भनी निन्दा गर्ने सामान्य धर्म हराउँदै गएको छ देशमा । पञ्चायतमा जो यस्तै दु:ख पाएका थिए, अहिले यस्तै दु:ख दिने भएका छन् । तैपनि देश चलेकै छ विभिन्न अवतारमा ।