नवउदारवाद एक किसिमको नयाँ आर्थिक नीति हो । जुन, करिब ३० वर्षदेखि लागु हुँदै हाल विश्वभर क्रमशः फैलिँदै छ । धनी झन् धनी हुनु र गरीब झन् गरीब हुनु नवउदारवादको प्रत्यक्ष असर हो । अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैङ्कजस्ता पुँजीवादका शक्तिशाली आर्थिक हतियारहरूमार्फत अहिले विश्वभर नवउदारवादी नीति विस्तार भइरहेको छ ।
प्रसिद्ध अर्थशास्त्री एडम स्मिथले सन् १७७६ मा उदारवादी अर्थनीतिको व्याख्या गरेका थिए । उनको पुस्तक (The Wealth of Nations) मा उदारवादबारे यसरी व्याख्या गरिएको छ, ‘सामान उत्पादनमा कुनै पक्षबाट रोकावट हुनु हुँदैन । व्यवसायमा कुनै छेकबार लगाइनु हुँदैन । कुनै खाले सरकारी कर लगाइनु हुँदैन । देशको आर्थिक विकासको लागि स्वतन्त्र व्यापार नै सर्वोत्तम उपाय हो ।’
आर्थिक कारोबारमा राज्यबाट नियन्त्रण नहुनु नै उदारवाद हो । एडम स्मिथ आर्थिक कारोबारमा सरकारी हस्तक्षेपको विपक्षमा खरोरूपमा उभिएका थिए । वस्तु उत्पादनमा स्वतन्त्रता र बजार व्यवस्थापन तथा मूल्य निर्धारणमा स्वतन्त्र प्रतिस्पर्धा नै उदारवाद हो । अर्थात् पुँजीपति वर्गलाई आफ्नो चाहनाअनुकूल बढीभन्दा बढी नाफा कुम्ल्याउने स्वतन्त्रता दिनु नै उदारवाद हो ।
१८ र १९ औँ शताब्दीमा पुँजीवादी देशहरूले उदारवादी अर्थनीति लागु गरेर अथाह सम्पत्ति जोडे । साथै उनीहरूले ल्याटिन अमेरिका, अफ्रिका र एसिया महादेशका प्राकृतिक स्रोत साधनमाथि कब्जा जमाउँदै उपनिवेश पनि चलाए । तर, सन् १९३० को आर्थिक मन्दीपछि भने पुँजीवादी देशहरू झस्किए ।
त्यसमाथि सन् १९१७ मा रुसमा लेनिनको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न भएपछि पूर्वी युरोपलगायतका देशहरूमा पुँजीवादी अर्थनीतिको विकल्पमा समाजवादी अर्थनीतिले बलियो जरागाड्यो । पुँजीवादका पृष्ठपोषकहरू संसारभर समाजवादको लहर फैलिनबाट कुनै पनि हालतमा रोक्न चाहन्थे ।
त्यसकारण, पुँजीवादी अर्थशास्त्री जोन मिनार्ड किन्सले पुँजीवादलाई जोगाउन थाँक्रो हाल्ने नीति अघि सारे । उनले आर्थिक मन्दीका कारण उब्जिएको बेरोजगारी समस्या हटाउन उदार अर्थनीतिमा केही अङ्कुश लगाउने प्रस्ताव ल्याए ।
विशेषगरी पुँजीवादी सरकार र केन्द्रीय बैङ्कहरूले ठूलठूला उद्योग–व्यवसायमा सरकारी हस्तक्षेप गर्नुपर्ने कुरा ल्याए । तत्कालीन संरा अमेरिकी राष्ट्रपति रूजवेल्टले किन्सको नीतिलाई तत्काल प्रयोग गरे । यसबाट अमेरिकामा बेरोजगारी समस्या हट्न थाल्यो र श्रमिक जनताले पुँजीवादको विरोधमा प्रदर्शनलाई सुस्त बनाए ।
आर्थिक मन्दीका कारण पुँजीवादी व्यवस्थाको विरोधमा संसारभर उठेका असन्तुष्टि र विद्रोहलाई मत्थर पार्न तथा समाजवादी लहरलाई रोक्न संरा अमेरिकी साम्राज्यवादले धुत्र्याइँ गरेको थियो । अन्य युरोपेली देशहरूले पनि यो नीति अङ्गाले ।
तर, समाजवादी नेता स्तालिनको मृत्युपछि सोभियत सङ्घमा खुश्चेभले संशोधनवादी नीति अघि सारेपछि भने पुँजीवादीहरू फेरि सल्बलाउन थाले ।
विशेषगरी सन् १९७० को अन्त्यतिर घरानियाँ पुँजीपति वर्गले आफ्नो नाफाको भागमा वृद्धि गर्न उदारवादी अर्थनीतिलाई नयाँ स्वरूपमा पुनःस्थापित गर्न खोजे । यसैलाई नै ‘नयाँ उदारवाद’ अथवा ‘नवउदारवाद’ भन्न थालियो ।
(लेखक विश्वकर्मा, मध्यपश्चिम विश्वविध्यालय स्कुल अफ लका निर्देशक हुन् ।)
