नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले विगत ४५ वर्षदेखि पार्टीमा सक्रिय रहेका फरक वैचारिक धारका राजनीतिज्ञ घनश्याम भूसालको राजनीतिक हत्याको प्रयास गरेका छन् । भुसालले आउँदो चुनाव लडन पार्टीको टिकट पाएनन । उनी कामरेड ओलीको सर्वसत्तावादी नेतृत्वको सिकार भए ।
घनश्यामजीसँग मेरो परिचय २०४६ जन-आन्दोलनताका भएको हो । म त्यतिखेर चक्र बाँस्तोला, हरिशर्मा र म जन–आन्दोलनको प्रचार–प्रसारका लागि दिल्लीमा थियौं। हाल माओवादी पार्टीको नेतृत्व तहमा रहेका गणेश साह पनि दिल्लीमा थिए । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र पुनःस्थापनाका लागि भएको त्यो जन-आन्दोलन ऐतिहासिक थियो ।
आन्दोलनको समाप्तिपछि घनश्यामजीसँग म सामान्य सम्पर्कमा मात्रै थिएँ । २०६२ को युगान्तकारी आन्दोलनपछि घनश्यामजी पार्टीको वैचारिक फाँटमा सक्रिय रहे । उनले आफनो दलभित्र उदार वैचारिक राजनीतिको धारलाई तिखार्न अनेक प्रयोग गरे । नेपालको लोकतान्त्रिक आन्दोलनमा समाजवादी धारका सर्वाधिक प्रभावशाली विचारक प्रदीप गिरिलाई कम्युनिस्टहरुको शिविरमा प्रशिक्षकका रुपमा निम्त्याए ।
नेपालको राजनीतिक-वैचारिक आकाशमा यो सर्वथा साहसिक कदम थियो । नेपाली कांग्रेसको टिकटमा संसदीय चुनाव जितेर आएका गिरि कम्युनिष्ट पार्टीको प्रशिक्षण कार्यक्रममा प्रशिक्षकका रुपमा उपस्थित भए । विश्व कम्युनिष्ट आन्दोलनका लियोन ट्रट्स्की, रोजा लक्जेम्बर्ग र अन्य महान हस्तीहरुको जीवनको त्राशदीलाई जसले बुझेका होलान तिनले नेपालमा घनश्याम भुसालले अहिले भोग्नु परेको त्राशदीको भेउ पक्कै पाएका होलान् ।
अहिलेको अवस्थामा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले घनश्यामजीलाई गठबन्धनमा तानेर टिकटदिने होइन, उनको स्वतन्त्र उम्मेद्वारीको समर्थनमा अभियान चलाउने हो । घनश्याम भुसाल मन्त्रीका रुपमा असक्षम सावित भए । तर, बिचारका हिसावले उनी सक्षम ब्यक्तित्व हुन । शेरबहादुर, प्रचण्ड, माधव नेपालको घैंटोमा घाम लागोस् ।
निर्दलीय पन्चायत व्यवस्थाका समयमा हुल्याहा र गुन्डाका रुपमा सर्वाधिक बदनाम भएका हाल राप्रपाका वयोवृद्ध नेता दीपक बोहोराका लागि पनि यो पापमोचनको सुनौला अवसर हो । उनले अन्तरआत्माको आवाज सुनेर घनश्याम भुसालको पक्षमा आफूलाई उभ्याए भने त्यो नेपाली राजनीतिको ऐतिहासिक मोड हुनेछ ।
(वरिष्ठ पत्रकार किशोर नेपालले यो विचार सामाजिक सन्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।)
