• ट्रेण्डिङ्ग :
१ अर्ब युनिट विद्युत् निर्यात, झन्डै ८ अर्ब आम्दानी

१ अर्ब युनिट विद्युत् निर्यात, झन्डै ८ अर्ब आम्दानी


  • 4.7K
    SHARES
    • आश्विन २५, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    १ अर्ब युनिट विद्युत् निर्यात, झन्डै ८ अर्ब आम्दानी

    काठमाडौं । भारतर्फको विद्युत् निर्यात एक अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । त्यसपछि मंगलबारसम्म अर्थात् २५ असोजसम्ममा एक अर्ब ३० लाख युनिट विद्युत् निर्यात भएको हो ।

    images

    देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘विद्युत् निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि अर्को कोसेढुंगा हो,’ उनले भने । निर्यात गरिएको विद्युत्‌को प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा रहेको छ ।

    सुरुमा दुईवटा विद्युत्‌ गृहको ३९ मेगावाट उत्पादित विद्युत्‌लाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत्‌ गृहबाट उत्पादित विद्युत्‌लाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

    भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट चार अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्रिएको छ ।

    यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत् निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

    आईएक्समा चौबीस घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्‌को कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक-फरक हुने गरेको छ । प्राधिकरणले अहिलेसम्म निर्यात गरेको विद्युत्‌को औसतदर प्रतियुनिट ७ रुपैयाँ ९१ पैसा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # विद्युत् खपत

  • तेस्रो आँखा