काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यले निर्वाचन प्रचारमा कलाकारको आश नगर्न राजनीतिक दलका उम्मेदवारलाई आग्रह गरेका छन् ।
वरिष्ठ कलाकार आचार्यले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै प्रचारप्रसार लागि कुनै पनि कलाकारबाट भोट माग्न आशा नगर्न राजनीतिक दलका उम्मेदवारलाई आग्रह गरेका हुन् । उनले नाता र आत्मिय सम्बन्ध गाँसिएका व्यक्तिहरु उम्मेदवार बनेपछि कलाकारबाट प्रचारमा हिंडेर भोट माग्न सहयोग गरिदिने आशा राख्नु स्वभाविक भएपनि सबै उम्मेदवारहरु साझा भएकाले प्रचारको आशा नगर्न भनेका हुन् ।
आचार्यले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन् । कतिसँग गहिरो मित्रता हुन्छ । कतिसँग नाता गांसिएको हुन्छ। देशमा जब निर्वाचन आउँछ, त्यसबखत ती मित्रता, ती नाता र आत्मीय सम्बन्ध गाँसिएका व्यक्तिहरु उम्मेदवार बन्दछन् ।’
उम्मेदवारहरुलाई लक्षित गर्दै आचार्यले लेख्छन्, ‘ब्यालेट बक्समा खसाल्ने मतपत्रको कुन चिन्ह रोज्ने भन्ने कुरा स्वविवेक हो । तर कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन सकिंदैन यो हाम्रो बाध्यता हो । त्यसैले मित्रता, आत्मियता र नातालाई पवित्र नै राखेर चुनावमा हामीबाट प्रचारप्ररसारको आशा नगरिदिन अनुरोध गर्दछु ।’
