काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) करेक्सनसँगै १८ सय ६६ दशमलव ४८ विन्दुमा रोकिएको छ । बुधबार नेप्से ११ दशमलव ३२ अंकले बढेको छ । अघिल्लो दिन (मंगलबार) १६ दशमलव ०६ अंकले ओरालो लागेर ५५ करोड २७ लाखको सेयर किनबेच भएकामा साताको चौथो कारोबार दिन आज (बुधबार) भने बजार परिसूचक एवं कारोबार रकम दुवै बढेका छन् ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५६ अंकले उकालो लागेर तीन सय ६६ दशमलव १९ विन्दुमा चढेको छ ।
१३ उपसमूहअन्तर्गत २२३ कम्पनीको सेयर खरिद-बिक्री हुँदा बुधबार ६९ करोड १७ लाख ३७ हजार आठ सय ९४ रुपैयाँको कारोबार भएको छ । जसमा १४ हजार एक सय ८६ पटकको कारोबारमा २० लाख ८५ हजार दुई सय ८४ कित्ता सेयर खरिद-बिक्री भए ।
नेप्सेमा यसदिन कारोबार भएका कुल उपसमूहमध्ये ट्रेडिङ र सामूहिक लगानी कोष उपसमूहको सूचक क्रमशः १३ दशमलव ८८ र शून्य दशमलव २४ विन्दुले ओरालो लागेर बाँकी उपसमूहहरुको सूचक उकालो लागेका छन् ।
नेप्सेमा बुधबार अभियान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ६ सय सात रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । उता एभरेष्ट बैंकको ऋणपत्रको प्रतियुनिट सेयर मूल्य भने नौ दशमलव ८३ प्रतिशतले घटेर सात सय ८० रुपैयाँ अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।
