काठमाडौं । नेपाली सेयर बजार आज (बिहीबार) झिनो अंकले बढेको छ । अघिल्लो दिन ११ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) चार दशमलव १५ अंकले बढेको छ । योसँगै नेप्से १,८७० दशमलव ६३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ९५ अंकले बढेर तीन सय ६७ दशमलव १४ अंकमा चढेको छ ।
नेप्सेमा बिहीबार २२२ कम्पनीको १७ हजार एक सय ४५ पटकको कारोबारमा २६ लाख ९८ हजार तीन सय ४७ कित्ता सेयर खरिद-बिक्री भएको छ । जसकारण कुल कारोबार रकम ८२ करोड ९६ लाख ४६ हजार नौ सय २० रुपैयाँ पुगेको छ ।
नेप्सेमा बिहीबार १३ समूहको कारोबार भएकामा जलविद्युत् समूहको सूचक दुई दशमलव ३५ अंकले घटेको छ भने बाँकी समूहका सूचक बढेका छन् । जसमध्ये निर्जीवन बिमा समूहको सूचक ३२ दशमलव ६१ अंकले बढेर सात हजार पाँच सय ३८ दशमलव ५३ अंकमा चढेको छ । यस्तै जीवन बिमा समूहको सूचक १५ दशमलव २३ अंकले बढेर आठ हजार सात सय ७१ दशमलव २२ अंकमा चढेको छ ।
नेप्सेमा बिहीबार अभियान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ६६७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यस्तै सिटिजन्स म्युचुअल फन्डको प्रतियुनिट सेयर मूल्य चार दशमलव ४५ प्रतिशतले घटेर सात रुपैयाँ ९५ पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।
