काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मोरङ क्षेत्र नम्बर ३ को प्रतिनिधिसभाकी उम्मेदवार रेखा थापाले आफू जन्मेको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न प्रत्यक्षतर्फको निर्वाचनमा होमिनु परेको बताएकी छन् ।
मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी रेखाले बिहीबार सुन्दरहरैंचा नगरपालिका-११ का मतदातासँगको भेटमा यस्तो बताएकी हुन् । समानुपातिकबाट सजिलै सांसद बन्ने अवस्था भए पनि आफू जन्मेको निर्वाचन क्षेत्रमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न आफूले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको उनको भनाइ थियो ।
उनले भनिन्, ‘मेरो दायित्व यहाँका माटोसँग छ । यो क्षेत्रसँग छ । समानुपातिक भन्ने छँदै थियो । म यसरी भेला नभईकन पनि तपाईंहरुसँग नभेटिकन पनि माननीय बन्ने मेरो उद्देश्य थियो भने म त्यहीँ बसेर माननीय बन्थें । मलाई तपाईंहरुसँग भेट्नु थियो । तपाईंहरुसँग मलाई कुरा गर्नु थियो । मलाई यो क्षेत्रको माटो र यो क्षेत्रका हरेक घर परिवार मेरा आफन्त हुन । मैले यहाँको रक्षा गर्नुपर्छ । र, गलत प्रवृत्तिको अन्त्य गर्नुपर्छ भनेर म यहाँ आएको हुँ ।’
थापाले थपिन, ‘मलाई जनप्रतिनिधि हुनलाई, मलाई माननीय हुनलाई ठूलो कुरा थिएन । म त्यहीँ (काठमाडौं) बसेर पनि हुन्थे । तर म त्यहाँ बसिरहँदा त्यसरी माननीय बनिरहँदा मसँग तपाईहरुको भेट यसरी हुने थिएन । यहाँको समस्या मैले थाहा पाउने थिइन ।’
रेखाले महिलाहरु नेतृत्वमा पुगे मुलुकको भ्रष्टाचार आफैं समाप्त हुने समेत दाबी गरिन् । मोरङ-३ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल शर्मा र नेकपा एमालेका भानुभक्त ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।
