काठमाडौं । वार्षिकरूपमा ठूलो मात्रामा जुत्ताचप्पल चोरी पैठारी हुँदा स्वदेशी जुत्ताचप्पल व्यवसायी मारमा परेका छन् । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले बिहीबार पत्रकार सम्मेलन गरी वार्षिक दुई करोडभन्दा बढी जोर जुत्ताचप्पल चोरी पैठारी हुँदा नेपाली व्यवसायीले समस्या भोग्नुपरेको बताएको हो ।
पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले चोेरी पैठारीबाट करोडौँ जोर जुत्ताचप्पको आयात हुँदा नेपालमा उत्पादित जुत्ताचप्पलले बजार पाउन छाडेको बताए । 'देशको मागलाई धान्न सक्नेगरी नेपालमा जुत्ताचप्पल उत्पादन गर्नसक्ने क्षमताको विकास भइसकेको अवस्थामा अनियन्त्रितरूपमा दक्षिणतिरको खुला सीमाबाट चोरी पैठारी र न्यून बिजकीकरणका कारण नेपाली व्यवसायी मारमा परेका छन', उनले भने ।
एसोसिएसनका अनुसार आर्थिक वर्ष २०७८\०७९ मा नेपालमा पाँच करोड ६५ लाख जोर जुत्ताचप्पल उत्पादन भएको थियो भने विदेशबाट दुई करोड ५९ लाख ८७ हजार एक सय ६३ जोर आयात भएको थियो ।
यस्तै दुई करोड २५ लाख १२ हजार आठ सय ३७ जोर जुत्ताचप्पल चोरी पैठारीबाट आएको छ । एक तिहाइ महिलासहित करिब ५५ हजार श्रमिक कार्यरत रहेको जुत्ताचप्पल उद्योग नेपालमा एक हजार पाँच सयभन्दा बढी रहेको अध्यक्ष घिमिरेको भनाइ छ ।
आर्थिक वर्ष ०७८\७९ मा नेपालबाट एक अर्ब ८८ लाख ३४ हजार एक सय १७ रुपैयाँबराबरको जुत्ताचप्पल निर्यात भएको थियो । एसोसिएसनका उपाध्यक्ष सुरज बञ्जाडेले ३० अर्ब रुपैयाँ व्यवसायीको लगानी र चार अर्ब रुपैयाँभन्दा माथि बैंक लगानी रहेको नेपालको जुत्ताचप्पल क्षेत्रलाई बचाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
उनले भन्सार नाकामा गस्ती बढाउनका साथै सीमा नाका रहेका जिल्ला प्रशासन प्रमुखलगायत राजस्व अनुसन्धान कार्यालयले बढी सक्रियताका साथ चोरीपैठारी नियन्त्रणमा लाग्नुपर्ने बताए । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नका लागि सबै सरकारी निकायमा कार्यरत कर्मचारीले अनिवार्य रूपमा नेपालमा उत्पादित जुत्ताचप्पल प्रयोग गर्न एसोसिएसनले आग्रहसमेत गरेको छ ।
