१ यसपल्टको जनगणनामा इतिहासमा पहिलोपटक देशमा जनसंख्या घटेको र अब आउँदा वर्षहरुमा पनि घट्दै जाने प्रक्षेपण छ । जनसंख्या घट्नु भनेको जुनसुकै राष्ट्रका लागि दुर्भाग्यको कुरा हो । मुस्लिम राष्ट्रबाहेक विश्वका अरु सबै राष्ट्रमा जनसंख्या घट्दो क्रममा छ ।
२ बाह्र कक्षा पास गर्ने अधिकांश नेपाली युवा-युवतीमा उच्च शिक्षाका लागि विदेश जाने मोह बढ्दो छ । परिणाम स्वरुप देशको ढुकुटीबाट प्रत्येक वर्ष ठूलो धनराशि बाहिरिँदो छ । यसरी बाहिरिएको जनशक्ति अपवादबाहेक कोही पनि देश फर्कंदैनन् ।
३ हाल करिब पचास लाखको हाराहारीमा गरिब नेपाली युवा-युवती वैदेशिक रोजगारअन्तर्गत अरब र मलेसियालगायत अन्य मुलुकमा पसिना बगाउँदै छन् । उनीहरुले पठाएको रेमिट्यान्सबाट हाल देशको अर्थतन्त्र चलेको छ ।
४ विज्ञहरुको भनाइनुसार अहिलेको हाम्रो देश जवान अवस्थामा छ । कारण उमेरगत जनसंख्या हेर्दा करिब ७० प्रतिशत युवायुवती (पचास वर्षमुनि) र बाँकी ३० प्रतिशत बूढो (साठी वर्षमाथिको ) जनसंख्या हामीसँग छ । देश विकासका लागि यो नै हाम्रो मुख्य पुँजी हो ।
५ तर अबको बीस-तीस वर्षपछि घट्दो जनसंख्या र शिक्षित जनशक्ति लगातार पलायन भइरहने हुँदा राष्ट्र बूढो हुँदै जानेछ जहाँ करिब ७० प्रतिशत बूढो जनसंख्या र बाँकी करिब ३० प्रतिशत जवान जनसंख्या हामीसँग रहनेछ ।
६ हाल वैदेशिक रोजगारमा गएका अधिकांश केही वर्षपछि बूढो र रोगी भएर देश फर्कंदै छन् । ती सबैलाई देशले सकेको वृद्धभत्ता दिएर उनीहरुको लालनपालन गर्नुपर्नेछ ।
७ अबको बीस-तीस वर्षपछि घट्दो जनसंख्याका कारण अहिलेको जस्तो वैदेशिक रोजगारमा जाने जनशक्ति हामीसँग रहने छैन । फलस्वरूप रेमिट्यान्स ज्यादै न्यून हुनेछ । विदेशबाट कामदार झिकाएर राष्ट्र चलाउने आर्थिक हैसियत (अरब, मलेसिया, जापान, युरोप, इजरायल, अमेरिका आदिको जस्तो) हामीसँग छैन ।
८ तसर्थ यही आउदो बीस-तीस वर्षभित्र देशभित्रका प्राकृतिक सम्पदाहरु जस्तै- जल, विद्युत्, कृषि , पर्यटन, जडीबुटी प्रशोधनलगायत अन्य निर्यातजन्य उद्योगहरुको उचित व्यवस्थापन र संरक्षण गरी देशलाई उन्नत राष्ट्रको दाँजोमा पुर्याउन सक्नुपर्ने बाध्यता हामीसामु छ । ज्वलन्त उदाहरणका लागि दक्षिण कोरिया, भियतनाम, चीन, थाइल्यान्ड आदि मुलुकलाई लिन सकिन्छ ।
९ यसका लागि अब नेताले हारेर देशले जित्नुपर्छ । यदि हामीले गत दुई-तीन दशकको जस्तै आपसी यदुवंशी युद्ध र राजनीतिक खिचातानीमा अल्झिएर समय बर्बाद गर्यौं भने समयले हामीलाई माफी दिने छैन । सबैको चेतना भया !
-शिक्षा क्षेत्रमा सक्रिय डा. सिटौला त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक एवं चिनिएका साहित्यकारसमेत हुन् ।
डा. सुरेन्द्र सिटौला
