विचार
गरिबमाथि गुन्डागर्दी

गरिबमाथि गुन्डागर्दी


गर्वले शिर लुकाइ रहेको सिलिङ्गहरु तिनै गरिबका कंगाल छातीहरु टाङ्गिएपछि बनेको हो ।

  • 6.6K
    SHARES
    • आश्विन २९, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    गरिबमाथि गुन्डागर्दी

    यो सहरको सडक, कुलेसो, गगनचुम्बी महलहरु कुनै कुलीन वर्गको मानिस वा राजा रजौटाहरुको श्रमदानमा निर्माण भएको होइन । यो तिनै श्रमजीवीहरुले हाड घोटेर योगदान जगमा बनेको हो ।  

    स्थानीय चुनावयता स्वतन्त्र उम्मेद्‍वारले माहौल तताए। विभिन्‍न ठूला राजनीतिक पार्टीहरुका पहुँचवाला उम्मेद्‍वारविरूद्ध केही ठाँउमा स्वतन्त्र उम्मेद्‍वारहरुले सानदार जित हासिल गरे । पछि सुरू भएको स्वतन्त्र उम्मेद्‍वारीको होडबाजी, महिमागान संघीय र प्रदेश संसद्को चुनावी झनै उम्लिएको छ।

    images

    म यसकारण 'उम्लिएको' छ भन्छु, ‘यो राजनीतिक/ सामाजिक न्यायपुर्ण चेत कम र लहड बढी भएर अघि बढिरहेको छ ।’ जुन, मेरो व्यक्तिगत बुझाइ पनि हो ।

    स्थानीय चुनावअघि देशको राजधानी रहेको सहर ‘काठमाडौं महानगर’को सरगर्मी बढ्यो । किनकि, त्यतिबेला ‘महानगरको मेयर’मा एउटा र्‍यापरले पनि स्वतन्‍त्र उम्मेद्‍वारी दिएका थिए । उनकैको नाम हो बालेद्र शाह उर्फ बालेन ।

    एउटा तप्काको सहरिया युवा पुस्ता । जसको प्रविधिमा पहुँच छ, माझ परिचित र्‍यापर । युवा पुस्ताले नै पछ्याइरहेको फेसबुक पेज 'रुटिन अफ नेपाल बन्द'ले चुनावी क्याम्पेनमा सहयोग गरिरहेको क्यान्डिडेट।

    कथित सेलिब्रेटीहरुले काँधमा बोकिरहेका उम्मेद्‍वार । जसको, सामाजिक आर्थिक पुँजी बलियो भएको, बाउ (बावु) आयुर्वेदको डाक्टर, दाइ /दिदी कथित गतिलो स्थानमा भएको, काठमाडौंमा घर भएको जमिनदारको छोरा । जोसँग सम्पुर्ण श्रोत /साधनहरुमा पहुँच छ । त्यसताका यस्तो लाग्थ्यो, ‘स्वतन्‍त्र भनेकै बालेन हो र स्थानीय तहको निर्वाचन काठमाडौंमा मात्रै छ।’ 

    स्थानीय चुनावपछि भने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ एकाएक चर्चामा रहे । जो, एक्लै चुनावी प्रसारमा होमिएका, वर्षौदेखि धराने जनताको संघर्ष र आन्दोलनका हिस्सा बनेका, न रवाफ देखाउन ठूलो आर्थिक  हैसियत भएका न कुनै मिडियाहाउस/ सामाजिक सन्‍जालका पेजहरुले भरोसा दिएका, सीमान्तकृत मान्छे ! चुनाव  जित्नु अघि 'स्वतन्त्रको चुनावी माहोल'मा गुमनाम रहेर सानदार जित निकालेका  हर्कको सादगी र वास्तविक समस्याहरु हल गर्न अघि सारेका प्रतिबद्धताहरुले एक किसिमको तरङ्ग पैदा गरेको थियो ।

    यी दुईले स्वतन्‍त्रबाट चुनाव जितपछि स्वतन्‍त्रको लहर उठ्ने/फैलिने पृष्ठभुमि बन्यो । भलै चुनावी एजेन्डा, वर्ग पक्षधरता, सामाजिक न्यायप्रतिको चेतमा यी दुई मेयर विपरीत ध्रुवमा उभिन्छन् ।

    स्वतन्‍त्रको हाइट यसरी उठ्यो । मानौँ ‘कुनै पनि राजनीति दलमा आवद्ध नहुनु र उनीहरुबाट स्वतन्‍त्र हुन नै आवश्यक मापदण्ड जसरी यो फैलियो।’  युवा हुनु र स्वतन्‍त्र हुनु नै पर्याप्त जस्तो गरि प्रचार-प्रसार गरिए ।

    हुँदाहुँदा कथित भगवान् कहलिएका पूर्व संचारकर्मीले 'राष्ट्रिय स्वतन्त्र पार्टी' नै खोले । लोकतन्‍त्रमा राजनीतिक पार्टी खोल्नु, आफ्नो विचार र सिद्धान्त स्थापित गर्न संगठित हुन पाउने अभ्यास लोकतन्‍त्रको आधारभूत अवधारणा भित्रपर्छ । ज-जसको बलिदानीले उनीहरुलाई यो अधिकार दिलायो आजका अधिकतम स्वतन्‍त्रहरु तिनैविरूद्ध हिँड्न उद्धत छन् ।

    एउटा उम्मेद्‍वार राजनीतिक पार्टीबाट अलग रहनुले नै ऊ स्वतन्त्र हुन्छ त ? व्यक्ति जब भिडको प्रतिनिधित्व गर्न उभिन्छ ऊ कसरी स्वतन्त्र हुन्छ ? ऊसँग त्यो भिडलाई संगठित गर्ने वैचारिक, प्रतिबद्धता र संकल्पहरु हुनुपर्छ । यसरी हेर्दा पनि त्यो व्यक्तिले कसको प्रतिनिधित्व कसरी गर्छ भन्नेकुरा महत्त्वपूर्ण हुन्छ।

    यस अर्थमा 'स्वतन्‍त्र उम्मेद्‍वार' पार्टीबाट स्वतन्त्र हुन्छ तर आफ्नो सामाजिक जिम्मेवारीमा ऊ स्वतन्त्र रहदैन । सामुहिक हित र सामाजिक न्यायको लागि काम गर्नुपर्छ भन्ने नै नबुझेर चुनावमा होमिएकाहरुले 'निरंकुशता लाद्नु' लाई स्वतन्त्र हुनु सम्झिएका हुन् भने त्यो सबैभन्दा घातक सिद्ध  हुने निश्चितै छ ।

    स्थानीय तहको निर्वाचन अघि/ पछि जुन खालको स्वतन्त्रको लहर आयो त्यसमा कतिले सामाजिक न्यायको पक्षसँगै राखेर भौतिक विकास अघि सारे त ? भनेर प्रश्न गर्ने हो भने, उत्तर निराशाजनक छ । स्वतन्‍त्र उठ्ने लहडका उम्मेद्‍वार'हरुलाई हेर्ने हो भने अधिकांश कुलीन वर्गलाई प्रतिनिधित्व गर्ने र तिनै वर्गका मान्छेहरुको हित रक्षागर्ने पक्षमा उभिन्छन् ।

    अधिकांश स्वतन्‍त्र उम्मेद्‍वारहरुले पछिल्लो समय निर्माण गर्न खोजेको भाष्य झनै सर्वथा गलत र लोकतन्‍त्रले सुनिश्चित गरेको आधारभुत सामाजिक न्यायकाविरूद्ध देखिन्छ। उदाहरणार्थ, देश बनाउन अक्सफोर्ड विश्वविद्यालय पढेको, विश्वविद्यालयबाट डिग्री हासिल गरेको, विधावारिधि गरेको, बाँच्नको लागि पुर्ख्यौली सम्पत्ति अकुत भएको र राजनीतिमा आएर भ्रष्टाचार गर्दिनँ भनेर धाक लगाउ सक्ने जस्ता योग्यताहरु मापदण्ड बनिरहेका छन् । जो मुलतः श्रमजीवी, उत्पीडित, सिमान्तकृतहरुलाई मुलधारको राजनीतिमा निषेध गर्ने भाष्य हो। आफ्नो ठाँउको मुद्दा संसदमा बोलेर सम्बोधन गर्न लगाउन प्रयत्न गर्ने कर्णाली कि झोवा विकहरुविरूद्धको हो । उत्पीडितहरुलाई अझै उत्पीडनमा धकेल्ने प्रपन्च हो ।

    कतै एउटा भनाइ पढेको याद आयो, ‘आवाजविहीन जस्तो कोही छैन ।’ मात्रै उनीहरुको आवाज षड्यन्त्रपूर्वक दबाइएको छ। सर्वाधिक चर्चामा रहेका धरान उपमहानगरका मेयरढुङ्गा हर्क साम्पाङ्गले ढुङ्गा बोके, जनश्रमदानको लागि आह्वान गरे भनेर हेय भाव राख्ने/श्रमलाई लज्जाको बिषय बनाउने, सामाजिक सन्‍जालको जमात एउटा ज्वलन्त उदाहरण हो फाँसिवादको ।

    पहुँचवाला स्वतन्त्रहरुले निर्माण गर्न खोजेको भाष्यबाट दिक्षित वर्ग । यो वर्गले के बुझिरहेको छैन भने आफ्नो अस्तित्व जोगाइरहन ढुङ्गा बोकिदिने र आफु सुखसयलमा रहेर ढुङ्गा बोकाउने हैसियत भएका कुलीनहरुबीच जति गहिरो खाडल बन्यो उति चाँडो उनीहरुको साम्राज्य खतरामा पर्ने सम्भावना बढ्छ ।

    चुनावी क्याम्पेन ताका 'गरिबको चमेली, बोल्दिने कोही छैन' गाएर गाएर मास सेन्टिमेन्ट बटुल्दै वाहवाही पाएका बालेनले आज तिनै श्रमजीवी गरिबमाथि गुन्डागर्दी गर्दैगर्दा थप्पडी बजाउनेहरु पनि उनै कुलीन वर्गलाई प्रतिनिधित्व गर्नेहरू छन् ।

    बालेन, बालेन जस्तै भाष्य बोकेर आएका स्वतन्‍त्र र तिनका अरिङ्गालहरुले गरिबीले सहर कुरुप पार्‍यो भन्नुअघि ‘यो सहरको सौन्दर्य तिनै गरिबहरुको आँसु, पसिना र रगतको जगमा बनेको हो’ भनेर सम्झिउन् । 

    यो सहरको सडक, कुलेसो, गगनचुम्बी महलहरु कुनै कुलीन वर्गको मानिस वा राजा रजौटाहरुको श्रमदानमा निर्माण भएको होइन । यो तिनै श्रमजीवी गरिबहरुले हाड घोटेर योगदान गरेको जगमा बनेको हो ।

    उनीहरुले चर्को घाम, दर्के झरी, हिउँद/बर्खा नभनी! जोतिएर हाड मासु यही सडकमा बिछ्याइ दिएपछि बनेको हो तिमीहरु कुद्ने चिल्लो सडक । राज दरबारको भित्ता हेर, सिंहदरबार अगाडि लम्पसार बाटो हेर, तिम्रो घरमा चिटिक्क बिछ्याइएको मार्बलहरुमा हेर, त्यहाँ नै श्रमजीवी वर्गका मान्छेहरुको अनुहार देखिन्छ ।

    तिमिले आफू बसिरहेको ठूला बिल्डिङहरुको रङ्गीचङ्गी हेर, त्यो पनि सर्मिलाहरुकै पसिनाको टाटाले रङ्गिएको हो । यो शहर जति बालेन्द्र र उसका गुन्डाहरुको हो, त्यति नै सर्मिलाहरुको पनि हो ।  चाहिँदाको भाँडो नचाहिदाको घाँडो व्यवहारले निम्न आर्थिक आय भएकाहरुको भोको पेटमा दन्केको आगोले तिमीहरुको कुलीन सुन्दरता जलाउनु अघि तिमीहरुको चेत खुलोस्।

    नत्र...आफ्नो कुलीन साम्राज्य जलेर खरानी भएको भग्ना‘वशेषबाट सर्मिला तामाङहरुले गाउनेछन्, ‘उत्पीडकको चमेली बोल्दिने कोही छैन !’

  • सम्बन्धित विषय:

  • # गुन्डागर्दि

  • हीरादेवी वाइबा
    लेखकबाट थप