काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थानुसार नै उद्योगी तथा व्यवसायीले भारततर्फ सिमेन्ट निर्यात सुरु गरेका छन् । यसअघि नै तानसेन सिमेन्ट भारत निर्यात भएको थियो ।
अर्घाखाँची सिमेन्टले सोमबारदेखि आफ्नो उत्पादनको औपचारिक निर्यातको थालनी गरेको छ । रुपन्देहीको मैनहियास्थित कारखानामा एक कार्यक्रमको आयोजना गरी कम्पनीले भारततर्फ पहिलो लटमा एक हजार चार सय बोरा (७० टन) ‘पोर्टल्यान्ड पोजोलान सिमेन्ट’ (पीपीसी) सिमेन्ट निर्यात गरेको हो । कम्पनीका अनुसार भारतको नौतनवा, महाराजगन्जस्थित शिभान्स एसोसिएट्सले पहिलोपल्ट अर्घाखाँचीको उत्पादन खरिद गरेको हो ।
‘भारतीय बजारतर्फको निकासीमा यो पहिलो कदम हो । सरकारले प्रदान गरेको आठ प्रतिशत अनुदानले यो उपलब्धि सम्भव भएको हो । यसले भारतसँगको व्यापार घाटा कम गर्नमा सहयोग पुग्नेछ,’ अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल बताउँछन् ।

त्यसैगरी अर्घाखाँची सिमेन्टका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले उद्योग सुरु भएदेखि निर्यात गर्ने सपना पूरा भएको बताए । ‘अब मेरो चाहना उद्योगले उत्पादन गर्ने अधिकांश सिमेन्ट भारत निकासी होस् भन्ने हो,’ उनले भने ।
मुरारकाका अनुसार भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायत क्षेत्रमा चुनढुंगा खानी छैन । त्यही बजार उपयोग गर्न भारत निर्यात थालिएको हो । यस अवसरलाई नेपालका सम्पूर्ण सिमेन्ट उत्पादकले उपभोग गर्नुपर्नेमा पनि उनले जोड दिए । सिमेन्ट निर्यात अझै बढाउन सरकारले भारतबाट कोइला आयात गर्ने वातावरण मिलाइदिनुपर्ने उनको भनाइ छ ।
भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँची सिमेन्ट लिमिटेडको उत्पादन अर्घाखाँची सिमेन्टलाई गुणस्तरसम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आईएसआई) मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यात हुन थालेको हो ।
कम्पनीले ओपीसी, पीपीसी र क्लिंकर निर्यातका लागि आईएसआई मार्क पाइसकेको छ । त्यसअनुसार कम्पनीले आगामी दिनमा आफ्ना ओपीसी र क्लिंकर उत्पादनलाई पनि छिमेकी मुलुकका बजारमा निर्यात गर्ने योजना लिएको छ ।
