देशभर डेङ्गुबाट सङ्क्रमितको संख्या ५० हजार दुई सय ६३ पुगेको छ । आईतबार सम्म सबैभन्दा बढी बागमती प्रदेशमा ३९ हजार दुई सय १७ जना संक्रमित रहेका छन् । दोस्रो धेरै संक्रमित लुम्बिनी प्रदेशमा चार हजार आठ सय २७ र प्रदेश १ मा एक हजार नौ सय ३३ रहेका छन् ।
यस्तै सबैभन्दा कम संक्रमित भएको भनिएको कर्णाली प्रदेशमा संक्रमितको संख्या छ सय ७२ पुगेको छ । काठमाडौँ जिल्ला सबैभन्दा धेरै संक्रमित रहेका छन् । काठमाडौँमा आइतबारसम्म डेङ्गु सङ्क्रमितको संख्या १३ हजार सात सय ३२ पुगेको छ । क्रमशः ललितपुरमा नौ हजार ५००, भक्तपुरमा पाँच हजार तीन सय ६६, मकवानपुरमा पाँच हजार दुई सय ८१ र चितवनमा दुई हजार पाँच सय ८० रहेको छ । छ दिनमा डेङ्गुको छ सय २४ नयाँ सङ्क्रमित थपिएका हुन् ।
यस्तै अहिलेसम्म डेङ्गुका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक सय ३९ पालिका, ६० जिल्ला र सातै प्रदेशमा ‘खोज र नष्ट गर’ अभियानमार्फत डेङ्गु सङ्क्रमण नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेको मन्त्रालयले बताएको छ ।
