- तेस्रोआँखा डेस्क
दाङ, २ पुस । प्रदेश सरकारले बजेट रोकिदिएपछि लुम्बिनी प्रदेशको प्रदेशसभा भवन निर्माणको काम रोकिएको छ । स्थायी राजधानी देउखुरीमा भइरहेकाे प्रदेशसभा भवन निर्माणको काम अर्थ मन्त्रालयले बजेट रोकिदिएपछि रोकिएको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ । यो प्राधिकरण स्थायी राजधानीमा भौतिक संरचना निर्माणका लागि स्थापना भएको छ ।
आगामी माघ महिनासम्म प्रदेशसभा भवन निर्माण भइसक्नु पर्ने सम्झौता थियो । यो भवन निर्माणका लागि ६ करोड रुपियाँ बजेट विनियोजन भएको थियो । भवन निर्माणमा केही परिमार्जन गर्ने निर्णय भएपछि प्राधिकरणले थप बजेट माग गरेको थियो । प्राधिकरणका प्रमुख अनन्तराज घिमिरेका अनुसार भवनको छानो ढुंगाको हाल्ने भन्दै प्रदेशसभाको सचिवालय व्यवस्थापन समितिले प्राधिकरणलाई सुझाएको थियो ।
पहिले प्रिफ्यावको छानो हाल्ने भनिएको थियो तर छानो परिवर्तन गर्ने सुझावका आधारमा प्राधिकरणले झण्डै तीन करोड रुपियाँ माग गरेको थियो । अर्थले त्यो रकम नदिएको बताइएको छ ।
‘प्रदेशसभाको सचिवालय व्यवस्थापन समितिले भवनको छानो ढुंगाको हाल्ने निर्णय गरेर रकम माग गर्न भनेपछि हामीले अर्थ मन्त्रालयसँग रकम माग्योें’, घिमिरेले भने- ‘तर त्यो रकम अर्थबाट पास भएको छैन, भवन निर्माणको काम रोकिएको छ ।’
अर्थले रकम नदिएपछि भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम बन्द गरेको छ । अब भवनमा छानो हाल्न बाँकी छ । निर्माण कम्पनीले बजेटको सुनिश्चितता नभएसम्म काम नगर्ने भन्दै १० दिनदेखि निर्माणको काम रोकेको घिमिरेले जानकारी दिए ।
उनका अनुसार, बजेटका सन्दर्भमा छलफल भइरहेको छ । मुख्यमन्त्री कार्यालय, अर्थ मन्त्रालयसँग बजेटका विषयमा कुराकानी भइरहेको तर अहिलेसम्म निर्क्योल भने भइसकेको छैन । ‘भवन निर्माणको काम रोकिएको विषय र बजेटका बारेमा मुख्यमन्त्री कार्यालय र अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ,’ उनले भने- ‘तर अहिलेसम्म कुनै टुंगो लागिसकेको छैन ।’
प्रदेशको स्थायी राजधानी देउखुरीमा तोकिएपछि भेगीय स्वार्थको लडाइँ चलिरहेको छ । देउखुरीमा राजधानी आउन नदिने नियतका साथ केही ‘शक्ति’ लागिपरेको स्रोतको दाबी छ । त्यही शक्तिले नै अर्थलाई बजेट रोक्न बाध्य पारेको आशंका गरिएको छ ।
त्यसो त, केही दिन अघि प्राधिकरणका प्रमुख घिमिरेलाई राजधानी नसार्न भन्दै धम्की दिइएको थियो । फेसबुक म्यासेन्जरमा म्यासेज पठाउँदै एक व्यक्तिले राजधानी सार्न लागिपरेको भन्दै धम्की दिएका थिए । साथै, ती व्यक्तिले अर्थले बजेट रोक्न मानिसकेको तर घिमिरेले एकलौटीरूपमा राजधानी पूर्वाधार निर्माणको काम गरिरहेको भन्दै त्यसो नगर्न चेतावनी दिएका थिए ।
‘अर्थले बजेट रोक्न मानिसकेको तर मैले नै काम अघि बढाइरहेको भन्दै मलाई आएको धम्कीको सम्बन्ध पनि अहिले बजेट रोकिनुमा छ कि भन्ने आशंका छ,’ घिमिरेले भने- ‘राजधानी आउन र ल्याउन नदिनेहरूले यसमा ठूलो चलखेल गरेका छन् नै ।’
घिमिरेलाई यस अघि पनि अप्रत्यक्षरूपमा राजधानी सार्ने काम नगर्न सचेत गराइएको थियो । उनीहरूले अख्तियारले समात्ने त्रास दिँदै अप्ठ्यारो काम नगर्न भन्दै आएका थिए । ‘मलाई केही व्यक्तिले भेटमा फोनमा मेरै हितका लागि जसरी राजधानीको काम नगर्न सुझाव दिँदै आएका थिए,’ घिमिरेले भने- ‘अख्तियारले अप्ठ्यारो पार्ला सचेत हुनुस् भन्ने खालका कुरा आइरहेका थिए तर मैले आफ्नो जिम्मेवारी बहन गरिरहेको छु ।’
