काठमाडौं, २४ जेठ । आलु, प्याज, तेललगायत दैनिक उपभोग्य सामानमा समेत जनतासँग कर असुलीरहेको सरकारले मानव स्वास्थ्यमाथि गम्भीर असर गर्ने सुर्ती तथा चुरोटमा भने विगतदेखि नै न्यून कर लगाउने गरेको छ । संसारका अधिकांश मुलुकको तुलनामा सुर्ती तथा चुरोटमा नेपालमा अत्यन्तै कम कर लाग्दै आएको छ । तथापि, विगतका बजेटहरुमा सुर्तीजन्य वस्तुहरुमा राम्रै कर उठाउने गरेकोमा यसपटक भने जम्मा ३ प्रतिशत मात्रै बढायो । सुर्तीजन्य उत्पादनका लागि नेपाल पहिलेदेखि नै उर्बर भूमि हुँदै आएकोमा यसपटक त स्वर्ग नै बनाइदिएको छ ।
विश्व स्वास्थ्य संगठनले सुर्ती तथा चुरोटको बिक्री मूल्यमा करको हिस्सा ७५ प्रतिशत हुनुपर्ने मापदण्ड बनाएको छ । गत वर्ष कर बढेपछि नेपालमा त्यस्तो दर ३० दशमलव ४ प्रतिशत मात्रै थियो । यसपटक सुर्ती तथा चुरोटमा तीन प्रतिशत मात्रै अन्तःशुल्क बढायो । यो वृद्धिपछि चुरोटको बिक्री मूल्यमा करको दर झनै घट्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
स्वास्थ्य सेवा विभागको स्वस्थ्य प्रवर्द्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य शिक्षा प्रशारक डा. भक्तबहादुर केसीका अनुसार यो वर्षको बजेटपछि नेपालमा चुरोट र सुर्तीजन्य पदार्थको मूल्यमा औसत कर २९ देखि ३३ प्रतिशतको हाराहारीमा रहने देखिएको छ ।
चुरोटमा १० वर्षयताकै कम कर वृद्धि
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दै सरकारले चुरोटमा ३ प्रतिशत मात्र कर बढाएको छ । बियर र रक्सीमा भने यस वर्ष कर नै बढेन ।
यस क्षेत्रका जानकारहरुका अनुसार पछिल्लो १० वर्षको बजेटको प्रवृत्ति हेर्दा हरेक वर्ष चुरोटमा औसत १० प्रतिशत कर बढ्ने गरेको थियो । गत वर्ष जनार्दन शर्माले ल्याएको बजेटमा १९ प्रतिशत कर बढेको थियो । तर, यसपटक भने ३ प्रतिशत मात्र वृद्धि भयो । जुन विगत १० वर्ष यताकै कम हो ।
