काठमाडौं, ५ पुस । सर्वदलीय बैठकमा दलहरुबीच अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विषयमा सहमति जुट्न नसकेपछि मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौताको विषयले प्रवेश नपाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जारी अबरोध र एमसीसीका विषयमा दलहरुको धारणा बुझ्न आईतबार बोलाएको सर्वदलीय बैठकमा दलहरु आआफ्नै अडानमा रहदा साँझा सहमित जुट्न सकेन ।
सर्वदलीय बैठक अघि पाँच दलीय गठबन्धन बीचको छलफलमा पनि नेताहरुले एमसीसीका विषयमा आआफ्नै तर्क प्रस्तुत गर्दा बैठक निश्कर्ष विहिन बन्यो । संघीय संसद प्रतिनिधिसभाले मंगलबारको सम्भाविक सूची प्रकाशित गर्दा लामो समय संसदमा रोकिएको एमसीसी सम्झौताका विषयमा उल्लेख गरेको छैन ।
यसअघिको बैठकमा एमसीसी सम्झौताका विषयमा संसदमा छलफल गर्ने सत्ता गठबन्धनको तयारी रहेपनि प्रतिपक्षी एमालेको अबरोधका कारण बैठक चल्न सकेन । मंगलबारको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ लाई अस्वीकार गरियोस्”भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
भने, कानून न्याय तथा संसदीय मामीला मन्त्री दिलेन्द्र प्रसाद बडुले “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ लाई स्वीकृत गरियोस” भनी प्रस्ताव सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसदका महासचिव डा. भरतराज गौतम बताए । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलीको संसद बैठक पनि अबरुद्ध गर्ने जनाएको छ ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठक पनि अबरुद्ध गरेको एमालेले मंगलबार बस्ने संसद बैठक पनि अबरुद्ध गर्ने जनाएको हो । एमाले लगातार लामो समय संसद बैठक अबरुद्ध गर्दै आएको छ । उसले सभामुख अग्नी प्रसाद सापकोटाले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै पटक—पटक संसद अबरुद्ध गर्दै आएको हो ।

