काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा आधा अर्ब रुपियाँ बराबरको स्वदेशी खानेपानी निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठ महिनासम्म ५४ करोड ३२ लाख १८ हजार रुपियाँको ८२ लाख १७ हजार ८८३ लिटर पानी निर्यात भएको हो ।
सरकारले पानी उत्पादनको मापदण्ड नबनाउँदा विदेशी आयातकर्ताले मागेको गुणस्तरको प्रमाणपत्र देखाउन मुस्किल भइरहेको उत्पादकको भनाइ छ ।
यस्तै सो अवधिमा विदेशबाट ५८ लाख ८७ हजार रुपियाँ बराबरको खानेपानी आयात भएको विभागको तथ्याङ्क छ ।विदेशबाट विभिन्न ब्रान्डको पानी आयात हुने गर्छ ।
अस्पताल, पाँचतारे होटलमा विदेशबाट आयात भएको पानी बढी प्रयोग हुने गर्छ । सरकारले आगामी आवको बजेटमार्फत सरकारले हिमालको पानीलाई ब्रान्डिङ गर्ने गरी ‘वाटर फ्रम दी हिमालय’ कार्यक्रम घोषणा गरेको छ ।
हिमालको पानीलाई ब्रान्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गरिने बजेटमा उल्लेख छ । हिमालको पानी ठुलो परिमाणमा निर्यात गर्न सके ठुलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न सक्ने अपेक्षा गरिएको छ ।
