बेलायत, २ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्सबीच संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सोमबार भएको भेटमा स्वास्थ्य मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक र सामाजिक विकास विशेषगरी स्वास्थ्य क्षेत्रमा पुर्याएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरेको नेपाली दूतावास लन्डनले जनाएको छ ।
स्वास्थ्य बस्नेत मन्त्रीले आइतबार विन्चेस्टरमा रहेको रोयल ह्याम्सायर काउन्टी हस्पिटलको तालिम केन्द्र, इमर्जेन्सी विभाग तथा वार्डहरूको भ्रमण गरी त्यहाँ नेपालबाट ल्याइने नर्सहरूको तालिम तथा स्थानान्तरण प्रक्रियाका बारेमा जानकारी लिएको दूतावासकी उपनियोग प्रमुख रोशन खनालले बताइन् । उक्त भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसमेत सहभागी थिए । मन्त्री बस्नेत गत असार २९ गते संयुक्त अधिराज्यको भ्रमणमा आए ।
