• ट्रेण्डिङ्ग :
अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे, बालबालिकाको श्वासप्रश्वासमा समस्या

अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे, बालबालिकाको श्वासप्रश्वासमा समस्या


  • 4.9K
    SHARES
    • भाद्र ७, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 7.6K Views

    अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे, बालबालिकाको श्वासप्रश्वासमा समस्या

    तुलसीपुर ७ भदौ/ मौसम परिवर्तनसँगै बालबालिकाहरुमा श्वासप्रश्वासको समस्या देखिएको छ । पछिल्लो केही दिन यता अस्पतालहरुमा श्वासप्रश्वासमा समस्या भएका बालबालिकाहरु अस्पतालमा जाने गरेका छन् । पानी परेसँगै धेरै जसो बालबालिकामा श्वासप्रश्वास संम्बन्धी समस्याहरु छाती जाम हुने, फोक्सो सम्बन्धी समस्या, आँखा पाक्नेदेखि लिएर भाइरल ज्वरो, पखाला लाग्ने बालबालिकाहरुको संख्या बढेको तुलसी बाल अस्पतालका डाक्टर किशोर खत्रीले जानकारी दिए ।

    images

    अहिले दैनिक ४० देखि ५० को हाराहारीमा श्वासप्रश्वास सम्बन्धी समस्या भएको र भाइरल इन्फेक्सन भएका बालबालिका उपचारको लागि आउने गरेको डा. खत्रीको भनाइ छ । ती मध्ये दैनिक पाँचदेखि ७ जना बच्चाहरुलाई भर्ना गर्नुपर्ने अवस्था छ । प्रायः बच्चाहरु मौसमकै कारण बिरामी पर्ने गरेको डा. खत्रीले जानकारी दिए । खासगरी भाइरल संक्रमण २ महिनाको शिशुदेखि ५ वर्षसम्मका बालबालिका बढी प्रभावित हुने गरेका छन् ।

    भाइरल ज्वरो भएमा लक्षण
    भाइरल संक्रमण खासगरी इन्फ्लुएन्जा नामक भाइरसबाट बालबालिकाहरुलाई संक्रमण गर्छ । बालबालिकाहरुमा खाना अरुची हुने, वाकवाकी हुने, मांसपेसी दुख्ने, दिसा पातलो हुने, कहिले हरियो त कहिले  पहेँलो रंगको दिशा गर्ने यसका लक्षण हुन् । 
    बच्ने उपाय 
    भाइरल संक्रमणबाट बच्न ६ महिना पुगेपछि कम्तीमा ८ वर्षसम्म इन्फ्लुएन्जाको भ्याक्सिन लगाउनु पर्छ । घरमै आमाले शुद्ध पानीको प्रयोग गरेर बालबालिकाहरुलाई सफा गर्ने, मौसम अनुसारको फलफुल खुवाउने, ताजा खाना मात्रै खान दिने, बाहिरको खाना नखुवाउने, स्तनपान गराइ राख्ने, ज्वरो धेरै आएमा पानीपट्टि लगाउने, झोलिलो खाने कुरा खुवाउने गर्नुपर्छ । तर बच्चाले खाना खान सकेन अथवा ज्वरो धेरै आएमा वान्ता गरेमा अस्पतालमा लैजानु पर्छ ।

    भाइरल ज्वरोका बिरामी बढी  
    साउन महिनादेखि अस्पतालहरुमा भाइरल ज्वरोका बिरामी बढेको अस्पतालहरुले जनाएका छन् ।  अहिले जिल्लाका सरकारी तथा निजी अस्पतालहरुमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ ।  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको लागि आउने करिब ३० प्रतिशत बिरामीमा भाइरल ज्वरो, रुघाखोकीको समस्या रहेको अस्पतालमा कार्यरत डा. पदमराज अधिकारी जानकारी दिए ।

    उनका अनुसार साउन महिना लागेसँगै भाइरल ज्वरोका बिरामी बढेका हुन् । निजी अस्पतालहरुमा पनि भाइरल ज्वरोका बिरामीको चाप उत्तिकै बढेको छ । पाल्पाली मेडिको फर्माका डा. राजेन्द्र श्रेष्ठले अस्पतालमा चेकजाँचका लागि आउने ५० प्रतिशत बिरामी भाइरल ज्वरोका रहेको बताए । यस्तो अवस्थामा बिरामीहरुले झोलिलो खाना बढी मात्रामा खानुपर्छ । सरसफाइमा विशेष ध्यान दिने, माक्स लगाउन डाक्टरहरुको सुझाव छ । यस्तै, आँखा पाकेका बिरामी पनि अस्पतालमा आउने गरेको उनको भनाइ छ । 


    तेस्रो आँखा