दंगीशरण, १६ भाद्र । दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा दंगीशरण गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुको पालिका स्तरीय २ दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य संस्थाहरुको वार्षिक प्रगती सार्बजनिक गर्दै स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउन समीक्षा कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख प्रदीप योगीले बताए ।
समीक्षा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफु निर्बाचित भएपछि गाउँपालिकामा सुशासनको जग बसाल्न लागिपरेको बताए । गाउँपालिका भित्रका हरेक अनियमितता तथा ब्यथितिको अन्त्यका लागि आफु अगाडी बढेको बताए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा हरेक कर्मचारीले जिम्मेवारीपूर्ण तवरले काम गर्न सुझाव दिए । बार्षिक समीक्षा कार्यक्रममा बोल्दै गिरीले गाउँपालिकाको स्वास्थ्यका सुचकहरुमा वृद्धि गरी पालिकालाई स्वास्थ्यको सवालमा दाङमै उत्कृष्ट स्थानमा राख्न सक्रियताका साथ आग्रह गरे ।
यस्तै कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय दाङका खोप अधिकृत किशोर आचार्यले कुनै पनि कार्यक्रमको गरिने समीक्षाले बिशेष अर्थ राख्ने र कुनै पनि कार्यक्रमको समीक्षाले उक्त कार्यक्रमको कमिकमजोरी थाहा हुने तथा पृष्ठपोषण हुने हुँदा समीक्षा गर्न अपरिहार्य रहेको बताए । कार्यक्रममा बोल्दै पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनोद अधिकारीले गुणस्तरीय स्वास्थ्यको सुनिश्चितता अहिलेको प्रमुख आवश्यकता रहेको बताए । कार्यक्रममा वडा नं. ५ का अध्यक्ष निरज बस्नेत, वडा नं. ४ का अध्यक्ष कमल थारु लगायतले आआफ्नो भनाइ राखेका थिए ।
समीक्षा कार्यक्रममा गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुको मुल्यांकन, कार्यसम्पादन तथा व्यवस्थापकीय पक्षको मुल्यांकन गर्दै कार्यसम्पादनतर्फ प्राथमिक स्वास्थ्य केन्द्र श्रीगाउँ उत्कृष्ट घोषणा गर्दै प्राथमिक स्वास्थ्य केन्द्र बागरका प्रमुख एवम् मेडिकल अधिकृत सुगत अधिकारीलाई प्रमाण पत्रले सम्मान गरिएको छ । यस्तै आधारभूत स्वास्थ्य संस्थाहरुतर्फ उत्कृष्ट व्यवस्थापन गरेवापत आधारभूत स्वास्थ्य केन्द्र रामपुरका प्रमुख दामोदर शर्मालाई प्रमाणपत्रले सम्मान गरिएको हो ।
दुई दिनसम्म चलेको वार्षिक समीक्षा कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा सहायक राधा शर्माले गरेकी थिइन् ।
