दुख हरण यादव,गढवा, १८ भदौ/ नीरज ! ए नीरज बाउ ! देखौ तोह यिहा केतना झार हरियान हय । काल्हिनसे कहितहन यिहका उखार फेंक देओ १ चारिओ ओर डेंगि मलेरीयाकै प्रकोप बढा हय खामाह खाह परेशान होयक परी । खुट्टाको समस्याले भित्ताको सहारा लिएर हिड्दै कान्छा छोरा निरजलाइ पसलको अगाडि उम्रीएको झारपात सफा गरेर राख्न आक्रोश पोख्छन । जगदिशको यो आक्रोश आफ्नो सन्तानलाइ कुनै बाधा व्यबधान न आओस भनेर पोखेको मायारुपी आक्रोश हो । सरसफाइ,खानापान तथा स्वास्थ्य प्रतिको लापरवाहीले अहिले म हिंड्डुल गर्न धौ धौ हुने अवस्थामा छु । यो दिन कसैले देख्न न परोस ! जगदिशले भने ।
समयमै खानपान तथा स्वास्थ्य प्रतिको प्रयाप्त ध्यान नदिदा विरामी भएका गढवा गाउँपालिका वडा नम्बर ६ गढवा बजार बस्ने जगदिश ठटेर ५५ वर्षका भए । उनी सुगर र नशासम्बन्धी रोगका बिरामी हुन् । बिगत तीन वर्षदेखि निजी अस्पतालबाट नियमित औषधि खाइरहेका ठटेरको उपचारमा बर्सेनि एक लाखभन्दा बढी नै खर्च हुन्छ ।
‘सुरू सुरूमा सरकारी अस्पतालबाट नै उपचार गरियो तर चेकजाँच मात्र सरकारीमा गराउने र औषधि खरिद गर्न निजी क्लिनिकमै जानुपर्ने अवस्था आएपछि उतैबाट सबै उपचार गराउँदैछु’ उनले भने– ‘म बिरामी परेको तीन/चार वर्र्ष भयो । वर्षमा एक लाखको भन्दा बढी औषधि उपचारमा खर्च गर्छु ।’
उनले स्वास्थ्य बिमाबारे कसैले जानकारी नगराएको बताए । ‘स्वास्थ्य बिमाबारे मलाई थाहा भएन कसैले जानकारी पनि गराएनन्’ उनले भने– ‘थाहा पाएको भए आफू र आफ्नो सबै परिवारको स्वास्थ्य बिमा गराउथेँ ।’ गढवा गाउँपालिका वडा नम्बर ६ बनकटियाका ५२ वर्षिय राम बहादुर यादवका दुई छोरा थिए । जसमध्ये कान्छो छोरा मन्साराम यादवको मिलेरी टिबि र कुपोषणको कारणले गत साउनमा उपचार गराउँदा गराउँदै काठमाडौँको टियु शिक्षण अस्पतालमा मृत्यु भयो ।
पैसाको अभावले समयमै उपचार गराउन न सक्दा छोरा गुमाएका बुबा राम बहादुरले रूदै बताए । ‘पहिले रोग थाहा भएन, सामन्य उपचार गरिरहे । नेपाल र भारतमा उपचारमा धेरै पैसा खर्च गरे’ उनले भने– ‘स्वास्थ्य बिमा गरेपछि निःशुल्क उपचार हुने कुरा समयमै थाहा न पाएकोले म मेरो छोरा गुमाए ।’ गाउँमा स्वास्थ्य बिमा लागू भएको कुरा आफूलाई कसैले पनि नभएको उनले बताए । ‘जानकारी पाएको भए मैले ऋणधन गरेर भए पनि बिमा गर्थे’ उनले भने– ‘सूचना तथा जानकारी पाएको भए छोराको उपचारको लागि जसरी भएपनि स्वास्थ्य बिमा गराउँथे ।’
त्यसैगरी गढवा गाउँपालिका वडा नम्बर ४ पर्नाह बस्ने शान्तिदेवी यादव ले स्वास्थ्य बिमा र सेवा सुविधाको बारेमा आफूलाई थाहा भएको तर आर्थिक अभावको कारणले आफू र आफ्नो सबै परिवारको स्वास्थ्य बिमा गराउन नसकेको बताउँछिन् । ‘हाम्रो सबै गरेर ११ जनाको ठूलो परिवार छ । सबैको बिमा गराउँदा करिब सात/आठ हजार रूपैयाँ आवश्यक पर्छ’ उनले भनिन्– ‘पैसा नभएपछि कसरी गर्नु बिमा रु सरकारले हामी गरिबको पनि बिमा निःशुल्क गरिदिए राम्रै हुन्थ्यो ।’
ग्रामीण तथा मधेशी समुदायमा स्वास्थ्य बिमाको महत्व तथा आवश्यकताको बारेमा प्रचार–प्रसार नहुँदा यसप्रति समुदाय अनभिज्ञ रहेका छन् । खेतीपाती तथा पशुपालन गरेर दैनिकी चलाउने मधेशी समुदायको स्वास्थ्य बिमाप्रति ध्यान पुग्न नसकेको देखिएको छ । व्यस्त जीवनशैली, सूचना सञ्चारमा पहुँचको कमी, कमजोर आर्थिक अवस्थालगायतका कारण छन् ।
सरकारले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन अति विपन्न, ज्येष्ठ नागरिक, पूर्ण अपाङ्ग भएका, क्षयरोगका, कुष्ठरोग, एचआइभी संक्रमित तथा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई एक लाख रूपैयाँसम्मको निःशुल्क बिमाको व्यवस्था गरेको छ ।
गढवा गाउँपालिकाअन्तर्गत स्वास्थ्य बिमा गराउने व्यक्तिहरूको उपचार केन्द्र लमही अस्पताल, राप्ती स्वास्थ्य प्रतिष्ठान घोराही अस्पताललाई तोकिएको छ । भौगोलिक विकटता र उपचारको लागि तय गर्नुपर्ने लामो दूरीको कारणले गर्दा पनि दिनभरी कामलाई नै प्राथमिकता दिने मधेशी समुदायका व्यक्तिहरू स्वास्थ्य बिमा गरेपनि सेवा सुविधाबाट बन्चित हुने अवस्था रहेको बिमीतहरू बताउँछन् ।
गढवा गाउँपालिका वडा नम्बर २ पचहियाका राजकुमार लोध गएको चैत्र मसान्तमा स्वास्थ्य बिमा गराए । उनी बिरामी हुँदा नजिकैको क्लिनिकबाट औषधि उपचार गराउनुपर्ने बाध्यता रहेको बताए । ‘गाउँको नजिक स्वास्थ्य बिमाको उपचार केन्द्र छैन, नजिक भनेको लमही अस्पताल हो ।
त्यहाँ जानरआउन मात्र दुई/तीन सय गाडीभाडा तिर्नुपर्छ । त्यति पैसाले त मेडिकलबाट औषधि किन्न पुग्छ’ उनले भने– ‘सजिलो र सस्तो होला भनेर गरिएको स्वास्थ्य बिमा अब त महँगो र झन्झिटिलो लाग्दैछ ।’ हरेक वडामा स्वास्थ्य बिमा उपचारको सुविधा दिने केन्द्रको व्यवस्था भए नागरिकलाई सुविधा लिन सजिलो हुने लोधले बताए ।
मधेशी समुदायमा यस्तै थुप्रै उदाहरणहरू रहेका छन् । जो स्वास्थ्य बिमाको पहुँचबाट बन्चित छन् । स्वास्थ्य बिमा कार्यालयले हरेक पालिकाको वडामा स्वास्थ्य बिमालाई व्यवस्थित बनाउन दर्ता सहयोगीको नियुक्ति गरेको छ । स्थानीय सरकारको रोहबरमा दर्ता सहयोगीलाई नियुक्ति गरी निश्चित प्रतिशत पारिश्रमिकमा कामको जिम्मा प्रदान गरिएको छ ।
स्वास्थ्य बिमा कार्यक्रमको लागि दर्ता सहयोगीको रूपमा काम गरिरहदा सबैलाई यस कार्यक्रममा समेट्ने प्रयास गरेपनि विभिन्न कारणले नसकेको गढवा गाउँपालिका वडा नम्बर ६ का स्वास्थ्य बिमा दर्ता सहयोगी नानु चौधरीले बताइन् ।
‘सबै नागरिकको स्वास्थ्य बिमा दर्ताको लागि गाउँघर अभियानमा छु ।
धेरैले स्वास्थ्य बिमा गर्न नै मान्दैनन् पछि गर्छु भन्दै टार्छन् ।’ नानुले भनिन्– ‘घरमा गएपछि वर्ग अपाङ्गता भएकाहरू र ज्येष्ठ नागरिकले मात्रै स्वास्थ्य बिमा गराउँछन्, शुल्क तिरेर गराउन आनाकानी गर्छन् । कतिले त अस्पतालमा औषधि नपाएपछि किन गर्नु यो स्वास्थ्य बिमा भन्दै झर्किकिन्छन् ।’
के पाइन्छ स्वास्थ्य बिमा गरेपछि ?
सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गतको स्वास्थ्य सेवा विधेयकमा स्वास्थ्य सेवामा आमनागरिकको पहुँच सुनिश्चित गर्न बिमा विधेयक २०७४ मा व्यवस्था गरेको छ । बिमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनैपनि अस्पतालबाट ओपिडि सेवा, इमर्जेन्सी सेवा, ल्याव उपचार, सामान्य अप्रेशनलगायत सुविधा प्राप्त गर्नसक्ने लमही अस्पताल लमहीका स्वास्थ्य बिमा फाँट प्रमुख सन्तराम चौधरीले बताए ।
‘स्वास्थ्य बिमा दर्ता गरेको तीन महिना पछि देखि सेवा लिन आउनेलाई व्यवस्था गरिएको सबै सेवा उपलब्ध गराउने गर्छौं’ उनले भने– ‘धेरैजसो मधुमेह, दम, ग्याष्ट्रिक, किड्नी तथा उच्च रक्तचापका बिरामी स्वास्थ्य बिमाअन्तर्गत सेवा लिन आउने गरेका छन् ।’ उनले नगरपालिकाले समयमा औषधि किनेर उपलब्ध गराउन नसक्दा कहिले कोहि अस्पतालमा औषधिको अभावले बिरामी फर्किन गरेको बताए ।
स्वास्थ्य बिमामा मधेसी समुदायको अवस्था
दाङमा २०७७ माघदेखि स्वास्थ्य विमा कार्यक्रम सुरू भएपनि झन्झटिलो प्रक्रिया, नवीकरणको समस्या र जनचेतनाको कमीले प्रभावकारी बन्न सकेको छैन् । ‘अपर्याप्त जनशक्ति, जनचेतनाको कमी, भौगोलिक विकटता, प्रभावकारी नियमन निकाय, र स्पष्ट नीतिको अभावले स्वास्थ्य बिमा कार्यक्रम सोचेजस्तो गति लिन नसकेको स्वास्थ्य बिमा कार्यालय दाङका जिल्ला संयोजक सत्य बोहोराले बताए ।
‘वडालाई दर्ता सहयोगी छनौट गर्ने अधिकार छ । दर्ता सहयोगीको निगरानी र अनुगमन त्यहिबाटै गर्नुपर्छ’ उनले भने–‘हामीलाई दर्ता सहयोगीको अनुगमन गर्ने अख्तियारी छैन् ।’ स्वास्थ्य बिमा कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन स्थानीय सरकारको विशेष भूमिका हुने बोहोराले बताए ।
स्वास्थ्य बिमा कार्यालय दाङको तथ्यांक अनुसार जिल्लामा बितेको आर्थिक वर्षसम्म २० हजार ३ सय ९४ पुरूष र १८ हजार ८२ महिला गरी कुल ३८ हजार ४ सय ७८ जनाले स्वास्थ्य बिमा गराएका छन् । स्वास्थ्य बिमा गराउनेमा दाङ गढवा गाउँपालिकाको अवस्था पुछारमा छ । स्वास्थ्य बिमा कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार गढवा गाउँपालिकामा अहिलेसम्म जम्मा ८ सय ९९ जनाको स्वास्थ्य बिमा दर्ता भएको छ । जुन २०६८ को जनसंख्या अनुसार कुल २।३३५ मात्र हुन आउँछ ।
जनगणना २०६८ अनुसार गढवा गाउपालिकाको जनसंख्या ३८ हजार ५ सय ९२ थियो । स्वास्थ्य बिमा कार्यलयको अनुसार हालसम्म गढवा गाउँपालिकाको वडा नं। १ मा ११३ जना, वडा नं। २ मा १५७ जना, वडा नं। ३ मा ३० जना, वडा नं। ४ मा कसैले पनि बिमा नगरेको, वडा नम्बर ५ मा ३९६ जना, वडा नम्बर ६ मा १२९ जना, वडा नम्बर ७ मा १२ जना र वडा नम्बर ८ मा ६२ जनाले मात्र स्वास्थ्य बिमा गराएका छन् ।
गढवा गाउँपालिकामा स्वास्थ्य बिमा कार्यक्रम मधेशी समुदायमा पुग्न सकेको छैन । कुनै पनि राष्ट्रिय कार्यक्रममा यो सहभागिता अत्यन्तै न्यून रहेको गढवा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कैलाश चौधरीले बताए । ‘स्वास्थ्य बिमा कार्यक्रमको बारेमा जनचेतनाको कमीले पूर्ण सहभागिता भएको छैन्’ उनले भने– ‘यसलाई सफल बनाउन व्यापक रूपमा जनचेतनामूलक कार्यक्रमको तयारी गरिरहेका छौँ ।’ स्वास्थ्य बिमाको दर्ता सहयोगीको निष्क्रियताले पनि यो समस्या आएको उनले बताए । ‘समाधानको लागि जनप्रतिनिधिले आ–आफ्नो वडामा ध्यान दिनुपर्छ’ उनले भने ।
बिमा शुल्क र पाउने सुविधा
दाङको १०० वटै वडामा स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन दर्ता सहयोगी नियुक्त गरी कार्यभार प्रदान गरिएको छ । बिमीत हुन चाहने परिवारले आफ्नो घरको अगुवा तथा अन्य सदस्यहरूको नागरिकता वा नेपाल सरकारबाट जारी गरिएको वैधानिक परिचयपत्र देखाई परिवारको सबै सदस्यहरूको फाराम भरी दर्ता सहयोगीले मोबाइलबाट फोटो खिचेर दर्ता गरी आवद्ध हुन सकिने व्यवस्था छ ।
बिमामा आवद्ध हुनको लागि पाँच जनासम्मको परिवारलाई वार्षिक तीन हजार पाँच सय रूपैयाँ शुल्क लाग्छ । पाँच जनाभन्दा बढी सदस्य भएको परिवारमा थप प्रतिसदस्य सात सय रूपैयाँ भुक्तानी गर्नुपर्छ भने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अति गरिब, अति अशक्त, अपाङ्गता भएका व्यक्ति एवं कुष्ठरोगी, टिभि, एचआइभि संक्रमित बिरामी भएका घरपरिवारलाई योगदान रकममा पूर्ण छुट्को व्यवस्था गरिएको छ ।
यसरी आबद्ध भएपछि पाँचजना परिवारलाई स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य उपचारका लागि वार्षिक एक लाख रूपैयाँसम्म भुक्तानी गर्छ । पाँच जनाभन्दा बढी परिवारको लागि परिवार संख्या अनुसार बढीमा दुई लाखसम्मको स्वास्थ्य उपचार पाइन्छ । ज्येष्ठ नागरिकले वार्षिक एक लाखसम्मको उपचार सुविधा पाउँछन् । स्वास्थ्य बिमामा सुविधा लिन हरेक वर्ष अनिवार्य नवीकरण गर्नुपर्ने हुन्छ ।
