काठमाडौं, १२ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार उद्घाटन समारोहमा फरक शैलीले प्रस्तुत भए। आफू भन्दा पहिलाका वक्तलाई एक एक गरेर प्रशंसा गरे।
प्रधानमन्त्री शेरबहादु देउवाले धारणा राख्दा प्रचण्डले गर्दा देशमा सबै सम्भव भएको भनेपछि मख्ख परेका प्रचण्डले स्टेजमा उभिँदै प्रधानमन्त्रीले पार्टीभित्र आलोचना खेप्नु पर्ने अवस्था आउन सक्ने डर आफूमा रहेको बताए। उनले भने, ‘सबै भन्दा छोटो बोल्ने वक्ता प्रधानमन्त्रीले कस्तो मिठो बोेल्न सक्या जस्तो लाग्यो। उहाँ मान्छे बढो सोझो जस्तो पनि, इनोसेन्ट हो कि जस्तो पनि, सजिलै भनिदिनु भयो यो प्रचण्डले गर्दा भएको हो नत्र हुने थिएन्। तर, ठूलो स्टेटमेन्ट भन्नु भयो। म उहाँ प्रति आभारी छु।’
प्रधानमन्त्री देउवाले इतिहासका खासखास मोडमा ठूला स्टेटमेन्ट दिएको प्रचण्डले स्मरण गरे। उनले भने, ‘हामी शान्ति प्रक्रियामा आउने तयारी गर्दै थियौं। उहाँले भनिदिनु भयो प्रचण्ड एउटा बहादुर नेता हो नेपालको । म युद्ध गरिरहेको छु। उहाँ प्रधानमन्त्री हुनुहुन्छ। प्रधानमन्त्रीले विद्रोहीलाई बहादुर नेता भन्नु भयो। सहज ढंगले भने पनि त्यसको जबरजस्त असर देशमा प¥यो।’
प्रचण्डले त्यति भनिरहँदा उनी भावुक भएको पनि देख्न सकिन्छ। शान्तिप्रक्रियामा आएपछि प्रधानमन्त्री आलोपालो गरेको अनुभव सुनाउँदै उनले आफूले जतिबेला प्रधानमन्त्री छोड्छु भनेको थिएँ त्यो बेला नै देउवालाई प्रधानमन्त्री बनाएको उनको भनाइ छ।
आफूले देउवालाई प्रधानमन्त्रीको कुर्ची छोडेपछि राजनेता नै भेटेको अनुभव सुनाएको पनि बताए। उनले कांग्रेस भित्र आलोचना खेप्नु पर्छ कि भन्ने डर लागेको पनि बताए।
यो महाधिवेशनबाट आफूलाई नै समीक्षा गरेको प्रचण्डको भनाइ छ। उनले भने, ‘सबै भन्दा बढी आत्मसमीक्षा मैले मेरै गरेको छु। तपाईहरुले प्रतिवेशन पारित भएपछि देख्नु हुने छ। हामीले यो महाधिवेशनबाट गर्न चाहेको कुरा आत्मसमिक्षा र आत्मआलोचना नै हो। हामी शान्ति प्रक्रियामा आएपछि विचार, संगठन, संरचनाको विषयमा कहाँ कहाँ चुक्यौं त्यो समिक्षा गर्ने बेला भएको छ।’
